बिहीबार, वैशाख ११, २०८२

दुई जिल्लामा ३ सय ५० फर्म खारेज

नेपालखोज २०७७ साउन २३ गते १२:०४

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले ३ सय ५० वटा फर्मलाई खारेज गरेको छ । व्यापार व्यवसाय सञ्चालन गर्नका लागि मात्र दर्ता गरिएको तर विभिन्न कारणले व्यापार व्यवसाय सञ्चालन गर्न नसकेकाले कैलाली र कञ्चनपुरका ३ सय ५० फर्मलाई गत आर्थिक वर्ष २०७६/७७ मा खारेज गरिएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा कैलाली कञ्चनपुरमा गरिएको अनुगमनका क्रममा २३ व्यवसायीलाई तत्काल जरिवाना गरिएको कार्यालय प्रमुख कमलबहादुर पुन मगरले बताए । उनका अनुसार अनुगमनका क्रममा ४ लाख ८५ हजार ६ सय बराबरको म्याद सकिएका, लेबल टाँस नगरिएका अखाद्य वस्तु नष्ट गरिएको छ ।

कार्यालयले नियमित बजार अनुगमन गर्नुपर्ने भए पनि आवश्यक जनशक्ति र साधनस्रोत अभावका कारण सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक पहाडी जिल्लामा अनुगमन गर्न नसकिएको जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा १ हजार ३ सय ४१ निजी र २६ वटा साझेदारी फर्म दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो आर्थिक वर्षमा संशोधन (नामसारी, ठाउँसारी) अन्तर्गत १ हजार १ सय ४ र १ हजार १ सय ८८ वटा फर्म नवीकरण भएका थिए । कार्यालयले उक्त आर्थिक वर्षमा १ करोड ८७ लाख २४ हजार ९५ रूपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख मगरले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नियमित बजार अनुगमन नहुँदा व्यवसायीले मनपरी मूल्यसूची राख्ने गर्नुका साथै उपभोक्तालाई अखाद्य वस्तु बिक्री गर्नेजस्ता कार्य बढ्दै गइरहेको जनाइएको छ ।  रासस

प्रतिक्रिया