कुशे औँसी: गोकर्णेश्वर मन्दिरमा पितृकार्य गर्नेको भीड

काठमाडाैं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाएका छन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यस दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।
बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्ड दान तथा श्राद्ध गरी सिदा दिन्छन् । विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्ड दान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरु तर्दछन् भन्ने धार्मिक विश्वास रहेको छ ।
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्ड दान तथा सिदादान गर्न देशका विभिन्न स्थानबाट सर्वसाधारणहरू पुगेका छन् । सो स्थानमा दिनभर नै मेला लाग्ने गरेको छ । सर्वसाधारणको भिडलाई मध्यनजर गर्दै सुरक्षाकर्मी, स्वयंसेवक परिचालन गरिएको गोकेणेश्वर मेला व्यवस्थापन समितिका अध्यक्ष एवं गोकेणेश्वर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जयराम महतले जानकारी दिए । सहज रूपमा तर्पण, सिदादान र पिण्ड दान गर्ने व्यवस्था मिलाइको उनले बताए ।
सत्ययुगमा ब्रह्माले नै स्थापना गरेको स्थल भएकाले गोकर्ण पुगेर पितृलाई तर्पण, सिदादान र पिण्ड दान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वास रहेको छ ।
प्रतिक्रिया