नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको भविष्य

काठमाडाैं । संसारमा सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्र बलियो सामाजिक र आर्थिक वृद्धि एवं रूपान्तरणको रूपमा रही आएको छ । हाम्रो देशमा पनि यस क्षेत्रको विकासबाट संवृद्धि हासिल गर्ने लक्ष्य लिएर राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) र सरकारी एकीकृत डाटा केन्द्र (जीआईडीसी) को स्थापना गरी देशको आइसिटी क्षमता विस्तारको लागि आधारभूत पूर्वाधार खडा गरियो ।
यो रणनीतिक कदमले सरकारको डाटा व्यवस्थापन प्रणालीलाई मात्र वृद्धि नगरी व्यापक रूपमा आइसिटी उद्योगको विकासलाई पनि उत्प्रेरित गर्यो । यस कदमलाई सूचना प्रविधि मार्फत सरकारी तथ्याङ्कको सङ्ग्रह र यसै प्रविधि मार्फत नागरिकको दैलोमा सरकारी सेवा पुर्याई सुशासनको अनुभूति दिलाउनुको अलावा सार्वजनिक खर्च कटौती गर्ने र राजश्वको दायरा वृद्धि गरी आर्थिक वृद्धि र रोजगारी सृजनाको सुचालकको रूपमा लाभ उठाउने गरी गरिएको सरकारको प्रतिबद्धता भनी बुझ्न सकिन्छ ।
दूरसञ्चार विकाश कोषको रणनीतिक परिचालन गरी सेवा प्रदायकलाई न्यूनतम अनुदान उपलब्ध गराई राज्यका हरेक माध्यमिक विद्यालयहरू, स्थानीय पालिकाहरू, वडा कार्यालयहरूमा र स्वास्थ्य संस्थाहरूमा उच्च गतिको इन्टरनेट सुनिश्चित हुने गरी राज्यका सेवा नपुगेका दूर दराजमा इन्टरनेट पहुँचको वृद्धिले आइसिटी क्षेत्रको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । न्यून अनुदान विधि मार्फत उच्च पहाडी र हिमाली स्थानमा समेत छोटो अवधिमा भएको इन्टरनेटको पहुँच वृद्धिलाई लिएर एसिया प्यासिफिक टेलिकम्युनिटी तथा विश्व दूरसञ्चार सङ्गठनले समेत महत्त्वपूर्ण उपलब्धिको रूपमा उदाहरण दिई प्रस्तुत गर्ने गरेका छन् ।
उच्च गतिको इन्टरनेट विस्तारको कार्यले राजधानी काठमाडौ बाहिरका दुर्गम एवं विकट स्थानहरूमा समेत अवसरहरूको जीवन्त इकोसिस्टम सिर्जना गरेको छ र यस प्रकारको कार्यवाट दुर्गम भौगोलिक अवस्थितिमा रहेका विभिन्न तह र तप्कामा नागरिकलाई समावेश गर्ने गरी विश्व आईटी नक्सामा नेपालको स्थानलाई महत्त्वपूर्ण रूपमा सूचीकृत गरेको छ । महामारीका कारण उत्पन्न चुनौतीका बाबजुद आर्थिक वर्ष २०२०/२१ मा १७.१ प्रतिशतले वृद्धि भएको आ.व. २०२१/२२आएर यसको वृद्धि भई नेपालको निर्यातमा सूचना प्रविधि सेवाको योगदान गणना योग्य भएको देखिएको छ ।
विभिन्न तथ्याङ्कहरूले नेपालमा इ-कमर्सले वार्षिक ४० प्रतिशतभन्दा बढीको उल्लेखनीय वृद्धि दर कायम गरेको देखिएको छ, जसले उपभोक्ता व्यवहारमा तीव्र परिवर्तन र डिजिटल प्लेटफर्मको प्रयोगमा भएको रुचि एवं वृद्धिलाई सङ्केत गर्दछ । यस किसिमको प्रविधिको प्रयोगले परम्परागत व्यापार मोडेललाई परिवर्तन गरिरहेक छ जस वाट नयाँ रोजगारीका अवसरहरू सृजना भई बजार गतिशीलताको उदय हुँ पुगेको छ । डिजिटल नेपालको परिकल्पना पुरा गर्न यो क्षेत्रको थप उदारीकरण गरी स्वदेशी एवं वैदेशिक लागानिलाई यथार्थमा महसुस हुने गरी आकर्षित गर्न विश्वव्यापी प्राविधिक प्रवृत्तिसँग तालमेल गर्दै आईसीटीलाई राष्ट्रिय विकास एजेन्डामा एकीकृत गर्न यस सम्बन्धमा अङ्गीकार गरिएका नीति एवं रणनीतिहरू परिमार्जन गरी नेपाललाई आईटी आउटसोर्सिङ सेवाहरूको हबमा परिणत गर्न सकिने देखिएको छ ।
नेपालमा पछिल्ला दिनहरूमा IT र Business Process Outsourcing (BPO) क्षेत्रहरूमा उल्लेखनीय वृद्धि भएको, जसले देशको अर्थतन्त्रमा गणना योग्य योगदान पुर्याएको छ । 2022 मा लगभग USD 515 मिलियन रहेको IT सेवा निर्यात उद्योगको तथ्याङ्क अघिल्लो वर्षको भन्दा 64.2% वृद्धि भएको र यो वृद्धि नेपाली आईटी सेवाहरूको विश्वव्यापी माग र उच्च गुणस्तरीय समाधानहरू प्रदान गर्ने क्षेत्रको क्षमताको प्रमाण हो । यसको अझ वृद्धि गर्न फ्रीलान्सरहरू, विशेष गरी सफ्टवेयर विकास र प्रविधिमा, आईटी सेवाहरूको बढ्दो निर्यातमा जोड दिनु पर्दछ।
नेपालको तुलनात्मक फाइदाहरू, जस्तै युवाहरू अंग्रेजी बोल्नेको संख्या बढी भएको र कम श्रम लागतमा काम गर्न सक्ने भएकोले विश्वव्यापी आउटसोर्सिङ बजारमा अनुकूल स्थानमा रहेको कारणहरुले गर्दा भौतिक सीमा अवरोधहरूको बाबजुद नेपाललाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सरल छ तर, अबको बाटो चुनौती रहित भने छैन ।
आईटी र बीपीओ क्षेत्रहरूको विकासलाई दिगो बनाउनको लागि राष्ट्रले सीप र क्षमतासँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्नुपर्छ । प्राविधिक विकाससँग तालमेल राख्न र अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न क्षमता विकाश सम्बन्धी पहलहरू लिन यस क्षेत्रमा थप लगानी गर्नु आवश्यक छ । यी क्षेत्रहरूमा निरन्तर भई रहेको विकासको गतिलाई कायम राख्न र आइसिटी उद्योग नेपालको अर्थतन्त्रमा प्रतिस्पर्धात्मक र नवीन शक्तिको रूपमा रहेको सुनिश्चित गर्न यस क्षेत्रमा क्रस सेक्टरबाट हुने आयलाई गणना गरी यो क्षेत्रलाई सहजीकरण गर्ने गरी यस थप रणनीतिक लगानी र नीतिगत सहजीकरण गरेमा थप सम्भावनाहरू खोल्न सकिने भएकाले नेपालमा आइसिटी उद्योगको भविष्य साँच्चै आशाजनक छ ।
प्रतिक्रिया