बुधबार, वैशाख १०, २०८२

महिला टी – २० क्रिकेट विश्वकप कसले जित्ला  ? 

नेपालखोज २०८१ असोज १९ गते १०:५३

काठमाडाैं । महिला टी–२० विश्वकपमा अष्ट्रेलियाले अहिलेसम्म खेलेका ८ मध्ये ६ सिजनमा जित निकालेको छ । यद्यपि  प्रतियोगिताको सबैभन्दा बलियो टोलीमध्येको एक अष्ट्रेलियालाई चुनौती दिने उद्देश्यले अन्य धेरै टोली अगाडि आएका छन् । 

यो वर्ष यो प्रतियोगिता असोज १७ गते देखि कार्तिक ४ गते (  अक्टोबर ३ देखि अक्टोबर २० ) सम्म खेलाइदैछ र प्रतियोगिताको आयोजना संयुक्त अरब इमिरेट्स (युएई) ले गर्दैछ । यसपटकको महिला टि- २० का खेलहरू शारजाह स्टेडियम र दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछन् । ३ अक्टोबरमा बंगलादेश र स्कटल्याण्डबीच उदघाटन खेल भएको थियो जसमा बंगलादेश १६ रनले विजयी भएको थियो । 

वास्तवमा यो प्रतियोगिता बंगलादेशमा हुनुपर्ने थियो तर देशको अशान्ति  र राजनीतिक अस्थिरताका कारण अर्को ठाउँमा आयोजना गर्ने निर्णय गरियो । 

यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा छोटो ढाँचामा खेलाइन्छ । यसमा प्रत्येक देसले २० ओभर अर्थात १२० बलसम्म ब्याटिङ गर्छ । सबैभन्दा धेरै रन बनाउने देसलाई विजेता घोषित गरिन्छ। पहिलो महिला टि – २० प्रतियोगिता सन् २००९ मा इंग्ल्याण्डमा भएको थियो । त्यसपछि यो प्रतियोगिता भारत, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश र दक्षिण अफ्रिकामा खेलाइयो। 

अष्ट्रेलियाले २०१०, २०१२, २०१४, २०१८, २०२० र २०२३ मा सर्वाधिक ६ पटक यो प्रतियोगिताको उपाधि जित्ने कीर्तिमान राखेको छ । यससँगै सन् २००९ मा इङ्ल्यान्ड र २०१६ मा वेस्ट इन्डिजले यो ट्रफी जितेका थिए । यो प्रतियोगिताका लागि १० वटा देसलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा समावेश देसले एक अर्कासँग एक – एक पटक प्रतिस्पर्धा गर्छन् । 

यो वर्ष समूह ए मा अष्ट्रेलिया, न्यूजिल्याण्ड, भारत, पाकिस्तान र श्रीलंका छन् । समूह बी मा बंगलादेश, इंग्ल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । दुवै समूहका शीर्ष दुई देस सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जित्ने दुई देसबीच उपाधिका लागि फाइनल खेल हुनेछ । 

यो प्रतियोगितामा विभिन्न करिब ८ मिलियन डलर पुरस्कार प्रदान गरिने छ जुन २०२३ मा भएको प्रतियोगिताको करिब दोब्बर हो । यसमध्ये फाइनल खेल जित्ने देसलाई २३.४ लाख अमेरिकी डलर प्रदान गरिने छ । 

यो वर्षको सुरुमा पुरुष खेलाडीका लागि आयोजना गरिएको टी–२० विश्वकपमा विभिन्न टोलीलाई कुल ११ करोड डलर पुरस्कार प्रदान गरिएको थियो जसमध्ये विजेता भारतले २४.५ लाख डलर प्राप्त गरेको थियोे । 

विगतको नतिजा हेर्दा यसपटक पनि अस्ट्रेलियाको दाबी नै बलियो देखिन्छ । यद्यपि क्रिकेट अनिश्चितता र सम्भावनाको खेल हो, त्यसैले यहाँ कुनै कुरा किटेर भन्न  सकिँदैन। यससँगै आईसीसीले इङ्ल्यान्डलाई दोस्रो स्थानमा राखेको छ किनभने विगत केही वर्षदेखि बेलायत सँग पनि राम्रा खेलाडीहरू छन् । 

भारत त्यसपछिको वरियतामा छ । भारतीय खेलाडीमाथि निकै दबाब पनि छ । यसको कारण भारतमा क्रिकेट निकै लोकप्रिय हुनु हो । भारतको पुरुष टिमले धेरै ठूला सफलता हात पारे पनि महिला टिमले अहिलेसम्म कुनै पनि फर्म्याटमा ठूलो प्रतियोगिता जित्न सकेको छैन । यद्यपि पछिल्लो समय भारतिय महिला टिमका लागि लगानिमा वृद्धि गरिएको छ । अर्को कुरा यसपटक यूएईको स्लो र स्पिन पिच भारतका लागि अनुकूल साबित हुनसक्छ । 

अस्ट्रेलियाकी कप्तान एलिसा हिलीले सन् २०२३ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । यसपटक पनि उनी आफ्नो ब्याटबाट सर्वाधिक रन बनाउने खेलाडी हुन सक्ने अपेक्षा गरिएको छ । 

फुटबलमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्ने एलिस पेरी सायद अहिलेसम्मकै उत्कृष्ट महिला क्रिकेटर हुन् । भारतले आफ्नो स्पिनर दीप्ती शर्माबाट राम्रो बलिङको अपेक्षा गरेको छ । यसैगरी  धेरै भारतियहरू उनिहरुकि अनुभवी कप्तान हरमनप्रीत कौरले आफ्नो ब्याटबाट उत्कृष्ट चौका र छक्का प्रहार गरेको हेर्न चाहन्छन्। 

हेली म्याथ्युज वेस्ट इन्डिजका लागि असाधारण र अनुभवी अलराउन्डर हुन्। बायाँ हाते बलर सोफी एक्लेस्टोनप्रति इंग्ल्याण्डलाई धेरै विश्वास छ । उनी यो प्रतियोगितामा विश्वकै नम्बर १ खेलाडी हुन् । यता इनोशी फर्नान्डो (श्रीलंका) र सादिया इकबाल (पाकिस्तान) आ-आफ्नो देसको आशा र भरोसा हुन् । यसैगरि दक्षिण अफ्रिकाका लागि लारा वोल्भार्डले कप्तानी र ब्याटिङ सुरु गर्दैछिन् । 

क्रिकेट हेर्ने जो कोहीलाई थाहा छ – भारत र पाकिस्तान बिचको खेलका बारेमा दर्शकहरूमा प्रसस्त उत्सुकता रहन्छ , चाहे त्यो पुरुष खेलाडीहरू बिचको प्रतिस्पर्धा  होस चाहे महिला खेलाडीहरू बीचको ।

छिमेकी पाकिस्तान विरुद्ध भारतको कीर्तिमान राम्रो छ तर पाकिस्तानी टिमले पनि कडा मेहनत गरिरहेको छ । यी दुई महिला टिम बीच भोलि असोज २० गते आइतबार ( अक्टोबर ६ ) खेल हुँदैछ । 

अक्टोबर १५ मा इंग्ल्याण्डले वेस्ट इन्डिजको सामना गर्नेछ । यो खेल पनि किन महत्वपूर्ण छ भने अहिलेसम्म अस्ट्रेलिया बाहेक यी दुई देशले मात्र यो विश्वकप जितेका छन् । त्यसैले उनीहरुबीचको प्रतिस्पर्धा हेर्नु निकै रोमाञ्चक हुनेछ । यसैगरी अक्टोबर ८ मा समूह ‘ए’ मा अष्ट्रेलिया र न्युजिल्यान्डबीच हुने खेलले पनि दर्शकको मुटुको धड्कन बढाउनेछ ।

प्रतिक्रिया