महिला टी-२० विश्वकपमा अस्ट्रेलिया र इङ्ग्ल्यान्ड विजयी

काठमाडाैं । यूएईमा जारी महिला टी-२० विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको हो ।
लगातार दोस्रो हार बेहोर्ने क्रममा श्रीलंका अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । श्रीलंका पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । ९४ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
त्यस्तै बंगलादेशमाथि इङ्ग्ल्यान्डले जित दर्ता गरेको छ । आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको इङ्ग्ल्यान्डले बंगलादेशमाथि २१ रनको जित निकाल्यो ।
१ सय १९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनायो । बंगलादेशकी सोभाना मस्टोरीले ४८ बलमा ४४ तथा कप्तान निगर सुल्तानले २० बलमा १५ रन बनाए ।
इङ्ग्ल्यान्डकी लिन्से स्मिथ र चार्ली डीनले समान २ तथा सराह ग्लेनले १ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय १८ रन मात्र बनायो । जितबाट सुरुवात गरेको इङ्ग्ल्यान्ड समूह बी को शीर्ष स्थानमा छ ।
समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड छन् । समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।
प्रतिक्रिया