बुधबार, वैशाख १०, २०८२

नेपालले जित्यो एकदिवसीय सिरिज

नेपालखोज २०८१ असोज २३ गते ५:४१

काठमाडौं । घरेलु टोली क्यानडा एचपीसँगको तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा एचपीलाई १० रनले पराजित गरेसँगै नेपालले सिरिज २-१ ले जितेको हो । पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा २० रनको जित निकालेको थियो ।

करण केसी र कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन प्रेरित नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा १० रनको जित निकालेको छ । नेपालले प्रस्तुत गरेको १८८ रनको लक्ष्य पछ्याएको क्यानडा एचपी ४४.५ ओभरमा १७७ रनमा समेटियो ।एचपीका लागि अली नदिमले ११६ बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ८५ रनको योगदान गरे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले ९.५ ओभरमा ५५ रन खर्चिंदै पाँच विकेट लिए । यसैगरी सागर ढकालले दुई तथा आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले समान एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४८.३ ओभरमा सबै विकेट गुमाउँदै १८७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कुशल भुर्तेलले ७० बलमा पाँँच चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी आरिफ शेखले ४०, सोमपाल कामीले २७ र अर्जुन साउदले १७ रन जोडे । एचपीका लागि जाहिद शिर्जादले तीन तथा सुखिन्दर सिंह र सहिल पटेलले समान दुई विकेट लिएका थिए ।

प्रतिक्रिया