भारतमा एकै दिन ६७ हजारमा कोरोना पुष्टि, संक्रमितको संख्या २४ लाख नजिक
काठमाडौं । कोरोना भाइरसबाट सङ्क्रमितको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९ सय ४२ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जनाएको छ । विहीबार विहान देखि दिउँसो १ बजेसम्म ४ हजार ५ सय २१ संक्रमित थपिएका छन् भने कोरोनाबाट ३१ जनाको मृत्यु भएको छ । वल्डोमिटरको तथ्यांकनुसार भारतका कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ हजार १ सय ६९ पुगेको छ ।
त्यसैगरी भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २३ लाख ९९ हजार ९ सय पुगेको छ । तीमध्ये ६ लाख ५५ हजार अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ९७ हजार जना सङ्क्रमणमुक्त भएका छन् ।
यसैबीच कोरोना भाइरसका कारण विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या दुई करोड ८ लाख १५ हजारभन्दा बढी पुगेको छ । कुल सङ्क्रमितमध्ये दुई लाख १४ हजार ९ सय ८५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका जनाइएको छ । त्यसैगरी चार हजार ८३५ जनाको सोही अवधिमा मृत्यु भएको छ ।
योसँगै विश्वभरी कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या ७ लाख ४७ हजार ३ सय पुगेको वल्डोमिटरले जनाएको छ । डब्लुएचओले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।
प्रतिक्रिया