आइतबार, वैशाख ७, २०८२

‘सडक २’ माथि संगीत चोरीको आरोप, २४ घण्टामा ६५ लाख डिसलाइक

नेपालखोज २०७७ साउन २९ गते २०:२३

एजेन्सी । बलिउड फिल्म ‘सडक २’ माथि संगीत चोरीको आरोप लागेको छ। पाकिस्तानी संगीत निर्माता सेजन सलिम (जो–जी) ले ट्वीट गर्दै गायक जाइद खानका लागि आफूले निर्माण गरेको ‘रब्बा हो’ गीतको संगीत चोरिएको आरोप लगाएका छन्।

सन् २०११ मा सार्वजनिक भएको ‘रब्बा हो’ गीत पाकिस्तानी गायक जाइद खानले गाएका छन्। जो–जीले ट्वीटमा ‘रब्बा हो’ र सडक २ फिल्मको ‘इश्क कमाल’ गीतको भिडियो क्लिप शेयर गरेर यसबारे निधो गर्ने जिम्मा श्रोता-दर्शकमाझ नै छाडेका छन्।

उनले ‘सडक २’ को उत्पादक तथा वितरक कम्पनी फक्स स्टार हिन्दीको ट्वीटर ह्यान्डललाई मेन्सन गरेर भिडिओ क्लिप राख्दै लेखेका छन्, “मैले २०११ मा मेरो साथीको लागि उत्पादन गरेको गीत कपी गरिएको छ। अब यसबारे कुरा गरौं।’

महेश भट्टद्वारा निर्देशित ‘सडक २’ को ट्रेलर बुधबार मात्रै यूट्युबमा सार्वजनिक भएको छ। तर, सुशान्तसिंह राजपूतको आत्महत्या पछि बलिउडमा ‘नेपोटिज्म’ (परिवारवाद) को बहस जारी रहँदा यो चलचित्रको ट्रेलरले २४ घण्टामै अत्यधिक ‘डिसलाइक’ पाएको छ।

स्टारका छोराछोरीले खेलेको चलचित्र बहिष्कार गर्ने लहर चलिरहँदा यो ट्रेलरको भिडिओले बिहीबार साँझसम्म ६५ लाखभन्दा बढी डिसलाइक पाएको छ। जबकि, लाइक गर्नेको संख्या ३ लाख ५१ हजार हाराहारी मात्र छ। फिल्ममा महेश भट्टकी छोरी आलिया भट्ट, संजय दत्त र आदित्य रोय कपुरको मुख्य अभिनय छ।

प्रतिक्रिया