बुधबार, वैशाख १०, २०८२

ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०८१ कार्तिक १० गते २१:०१

काठमाडौं । ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी तनहुँ भानु नगरपालिका–८ बगालेफाँट घर भएका ४८ वर्षीय राम बहादुर खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सुर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा वारदातमा संलग्न नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडको संचालक एवं शेयरधनी राम बहादुरलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ पानीपोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

माल्टा पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिराहा, सिराहा नगरपालिका–१० घर भई काठमाडौं महानगरपालिका–३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

मनोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ७ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १० ग्राम ८ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ फुटाह बस्ने २६ वर्षीय अमृत नेपाली, जाजरकोट छेडागाड नगरपालिका–१२ बस्ने २४ वर्षीय कालि बहादुर चदारा र उनकै श्रीमती २० वर्षीया सुनिता बिक रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको भजनी नगरपालिका–५ लालबोजीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ रजबारा बस्ने २२ वर्षीय रूपेश बिक र घोडाघोडी नगरपालिका–४ सिमथरी बस्ने २१ वर्षीय कुसल गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्विपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही नगरपालिका–२ साडेपानी बस्ने २१ वर्षीय प्रशान्त चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २३ ट्याब्लेट सहित सोही नगरपालिका–१ बेलार बस्ने २१ वर्षीय आकास शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्सडबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । इलामको माई नगरपालिका–४ सुखानी

सहिद पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ बस्ने २९ वर्षीय मनोज तामाङ र उनकै भाइ २४ वर्षीय सुमन तामाङ रहेका छन् । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१३ बराहक्षेत्र ज्यामिरेदह सामुदायिक वनको पिपल चौतारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ७० मिलिग्राम सहित तुलसीपुर उपमहानगरपालिका–५ नामीनगर बस्ने २६ वर्षीय दिपेश डाँगीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र नुर्फिन २ सय एम्पुल सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम घर भएका ३५ वर्षीय दिपेश श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका–६ बस्ने २४ वर्षीय लालबाबु पासवान रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयाबाट नारायणगढतर्फ जाँदै गरेको बा.५४ प ६५९८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित मोरङ उर्लाबारी नगरपालिका–३ बस्ने २१ वर्षीय अरूण भित्रीकोटीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ

नवलपरासी पूर्वको देवचुली नगरपालिका–९ बिशालटार बस्ने २९ वर्षीय मिलन मानन्धरको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन नेपालीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अर्जुनले धारिलो हतियार प्रहार गर्दा मिलन गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलदले र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका मिलनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

संखुवासभाको चिचिला गाउँपालिका–४ मत्क्षपोखरी बस्ने ४५ वर्षीय भिम बहादुर गुरूङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीया दुर्गा माया गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दुर्गाले धारिलो हतियार खुकुरी प्रहार गर्दा भिम बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिचिला र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

दुधौली नगरपालिका–७ कटहरे बस्ने राजेन्द्र थापाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने २७ वर्षीय हिमाल बराल समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ७० रूपैयाँ, कौडा १६ थान र मोटरसाइकल २ थान सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न दुई जना पक्राउ

पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने भिम बहादुरको कोठाबाट सुनको सिक्री १ थान, घडी १ थान र नगद समेत चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा भिमसेन गाउँपालिका–६ घर भई हाल कास्की पोखरा महानगरपालिका–१५ घलेचोक बस्ने ३९ वर्षीय राम बहादुर नेपाली र २६ वर्षीया गोमा गुरूङ रहेका छन् । गत कात्तिक १ गते भिम बहादुरको कोठाबाट चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी भएको सुनको सिक्री (दुई टुक्रा पारिएको अवस्थाको) १ थान, घडी १ थान र विभिन्न कम्पनीका मोवाइल ३ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया