शनिबार, वैशाख ६, २०८२

५६ वर्ष अगाडि धार्नी तथा मानापाथीमा बन्देज लागेको थियो…

सुनिल उलक २०८१ कार्तिक ११ गते ११:३७

बि.सं. २०२५ कार्तिक ९ गते राष्ट्रिय पञ्चायतको सिफारिसमा महेन्द्र राजाले पुरानो ढक धार्नीको चलनलाई हटाएर आधुनिक एवं विश्वमा सर्वमान्य मेट्रिक प्रणाली अर्थात् किलोग्रामको प्रचलन सुरु गरेको ब्यहोरा राजपत्राङ्कित भयो । स्टाण्डर्ड नाप तौल ऐन, २०२० लाई खारेज गरी बनेको नयाँ नाप तौल ऐन, २०२५ ले नयाँ अमेरिकी मापदण्डलाई कायम गर्‍यो । जस अनुसार नापमा मिटर प्रणाली र तौलमा किलोग्राम प्रणाली लागु भयो । तर पनि सर्वसाधारणले सो सहजै स्वीकार गर्न सकेनन् । धेरै पछि सम्म पनि जनताले धार्नीले जोख्ने काम भने छोडेनन् । 

तौलका लागि प्रयोग हुने यी पुराना ढकहरू भारतमा निर्मित हुन्थे । आगराको आइरन फाउन्ड्री कम्पनीमा निर्मित थिए । एक धार्नी बराबर अन्दाजी साढे दुई किलो र एक सेर बराबर आधा धार्नी अर्थात् १२५० ग्राम हुने गर्दथ्यो । ढकमा आधा सेर र चौथाइ सेर पनि हुने गर्दथ्यो । 

मेरो आमाले पनि पछिसम्म केही खरिद गर्नु पर्दा आफ्नै ढक र तराजु को प्रयोग गर्नु हुन्थ्यो । तिनै ढकहरू अझै सम्म पनि सङालेर राखेको छु । 

तर पछि २०२५ सालमा कानुन बनेपछि भने एकरूपता ल्याउने मनसायले एक धार्नी बराबर २ किलो २९४ ग्राम र एक शेर बराबर ९३३ ग्राम बनाइयो । त्यस्तै एक पाथीमा चार लिटर ५४५ मीलिलिटर रहने निर्धारण गरिएको थियो । 

उहिलेका माना पाथीको नाममा दश मुठी बराबर एक माना, दुई मानाको एक कुरुवा, आठ माना बराबर एक पाथी र बिस पाथी बराबर एक मुरी हुने गर्दथ्यो । यो सबै हटाएर लिटरको सुरुवात भएको थियो । जसमा पाउने दुई मानाको एक लिटर हुने गर्दथ्यो। 

दोस्रो शताब्दीमा लेखिएको मानिने मनुस्मृतिमा मानकमा १६ पल बराबर एक प्रस्थ र १६ प्रस्थ बराबर एक द्रोण लेखिएको छ । यही प्रस्थ नै पछि प्रचलनमा आएको पाथीका रूपमा लिने गरिन्छ । त्यो समयको प्रस्थ हालको ६ किलो बराबर हुन्थ्यो । तर लिच्छवी कालमा तीन पाथी बराबर एक माना भनिन्थ्यो । जुन पछि प्रचलनमा आएको माना नभई मन भएको बुझिन्छ । लिच्छवी कालमा माटाका पाथीहरू बनाइन्थे । 

सबैभन्दा बढी माना पाथी तथा धार्नीको प्रचलन मल्लकालमा भएको थियो । शाहकलाका राजा रणबहादुर शाहले नापतौलमा एकरूपता ल्याउन बि.सं. १८६२ मा हिटीचोक्या अड्डालाई जिम्मा लगाइ छाप लगाइएका ढक, तुलो तथा माना पाथी मात्र चलनमा ल्याउन दिने आदेश दिइएको थियो । यसरी खोटो चलनमा रोक्का गरिएको थियो । 

व्यापारीहरूले सामान खरिद गर्दा जेठी पाथी र बिक्री गर्दा कान्छी पाथीको प्रयोग गरेर ठगी पनि गर्दथे । जसले गर्दा राजा त्रिभुवनको समय २०११ पुस २६ गते थपघट भएका पाथीहरू भएमा सिंहदरबार मा रहेको उद्योग विभागमा गई सटही गर्न १५ दिने सूचना दिइएको थियो । र पनि बजारमा ६ माने पाथी, चुल्हेपाथी, किप्यंपाथीहरूको पनि प्रचलन रहेको थियो । 

हाम्रो घरमा पनि यस प्रकारको माना पाथी तथा ढक तराजुहरू अझै पनि सुरक्षित छन् । बि.सं. २०१३ सालको राजा महेन्द्रको मोहर छाप भएको पाथी तथा कुरुवा र बि.सं. १९७८ को राजा त्रिभुवनको मोहर छाप भएको माना तथा चौथाइ सुरक्षित नै छन् । साथै पुरानो धार्नी, शेर, आधा शेर र चौथाइ शेर पनि रहेको छ । पुरानो तराजु पनि घरमा नै जोगाएर राखिएको छ ।

प्रतिक्रिया