सोमबार, वैशाख ८, २०८२

धनतेरस मनाउँदै मैथिल

नेपालखोज २०८१ कार्तिक १३ गते २०:३८

महोत्तरी । मधेसको मिथिलाञ्चल क्षेत्रमा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका रातमा मनाइने धनतेरस आज मनाइँदैछ । दिवाली (दीपावली) पर्वको पहिलो दिन आज धनधान्यकी देवी लक्ष्मीलाई प्रशन्न गराउन धातुका गहना र भाँडा किनेर घरमा लक्ष्मी स्थापना गरी धनतेरस मनाइने मैथिल परम्परा छ । यमपञ्चक पनि भनिने यस पर्वको पहिलो दिन घरघरमा दीपमालिका गरेर दीवाली पर्व प्रारम्भ गरिन्छ ।

धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री धनतेरसका दिन नयाँ किन्ने प्रचलनले यस्ता सामग्रीका व्यापारिक प्रतिष्ठान र पसल अहिले भरिभराउ छन् । लक्ष्मीको पूजाआराधना साँझपछि हुने भएको हुँदा धनतेरस मनाइने दिन रात्रि भोगको त्रयोदशी हुनपर्ने मान्यताले यो पर्व आज मनाइएको मैथिल संस्कृतिका जानकार बताउँछन् । आज बिहान ११ बजेर एक मिनटपछि त्रयोदशी तिथि लागेको र रातभरि यसको भोग रहेका हुँदा धनतेरस आज मनाइएको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा वीरेन्द्र झा बताए ।

मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा तिथि, बार, नक्षत्र एवं चाडपर्वको छिनोफानो गरिन्छ । दुवै पञ्चाङ्गमा आज नै धनतेरस उल्लेख रहेको झाले बताए । कात्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धन्वन्तरी जयन्ती भने भोलि बुधबार मनाइनेछ । धन्वन्तरी जयन्ती र काग पूजा सूर्योदयको त्रयोदशीमा हुने हुँदा भोलि मनाइने तयारी छ । सामान्यतया पाँच दिनको हुने दीपावली अर्थात् यमपञ्चक यसपालि तिथिको भोग घटबढले छ दिन परेको छ ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुसी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका जानकार बताउँछन् । मिथिला क्षेत्रमा तिहारको पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर दीपावली (तिहार) पर्व विधिवत् सुरु गरिने परम्परा छ । सन्ध्याकालमा दीपावलीसहित धनतेरसको पूजा गरिएसँगै तिहार (दीपावली) सुरु हुने मैथिल परम्परा छ ।

पर्व विशेषका कारण आज तामा, पित्तल र काँसका भाँडा पसल र सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको निकै भीडभाड बढेको छ । मिथिलामा आज किनिएको समान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।

प्रतिक्रिया