सोमबार, वैशाख ८, २०८२

सद्भावको पर्व बन्दै छठ

नेपालखोज २०८१ कार्तिक १६ गते १६:४६

महेन्द्रनगर (धनुषा) । छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ । जताततै छठको रौनक छ । अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ । त्यसैले यो पर्व आस्था र विश्वास मात्र नभएर सद्भावको पर्व बन्दै गएको हो ।

अन्य पर्वहरूको मौलिकता गुम्दै गएपनि छठको मौलिकता जिवित छ । मधेशका महिलाले परिवार र सन्तानका सुख समृद्धिको कामना गर्दै छठ मनाउने गर्छन् । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भइ षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

कृषि प्रदर्शनीको पर्व

छठले किसानको परिश्रमलाई सम्मान गर्छ । कृषिउपजलाई प्रसादका रूपमा प्रयोग गरिन्छ । झन्डै ७२ प्रकारका कृषिउपजको छठ पूजामा प्रयोग गरिन्छ । यसले हराउँदै गएको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराउँछ । छठ सुरु हुनु अघिदेखि ठेकुवाका लागि बजारमा गहुँ, चामल, सक्खरको खोजी हुने र नरिवल, बाँसका ढाकी, सुपलीको जोडजाम गरिने मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडी बताए ।

गबडी धान ९साठी० सुथनी, अदुवा, बोडी, उखु, नरिवल, स्याउ, सुन्तला, सक्खर ९मिठ्ठा०, कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गर्ने उनको भनाइ छ । छठ पर्वले कृषि पहिचानलाई जगेर्ना गरेको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ बनिनियाका प्रमुख मथुरा यादवले बताए ।

स्थानीय कृषि उत्पादनलाई छठको प्रसादका रूपमा प्रयोग गरिन्छ । उखु, चामल, केरा जस्ता दर्जनौँ कृषिउपजको प्रयोग छठमा हुन्छ । छठमा सूर्यको पूजा हुन्छ । सूर्य शक्तिको प्रतीक हो । सारा संसार यसैको आधारमा चलिरहेको छ । कृषि उत्पादनको सबै प्रक्रिया सूर्यको प्रकाशबाट सञ्चालित रहेकोे ज्योतिष पण्डित अमित झाले बताए । ‘छठ प्रकृतिको पूजा मात्र होइन शक्तिको उपासना पनि हो’, छठ पर्वका जानकार डा राजेन्द्र विमलले भने ।

प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवन सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैँ प्रयोग गरिनेभन्दा फरक कृषि उत्पादन चढाउनुले पुष्टि हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्ण्ब बताए । उत्तराधिकारी महन्त रामरोशन दास बैषण्वका अनुसार छठमा प्रसादका रूपमा जे जति कृषि सामग्री प्रयोग हुन्छन् ती हाम्रा खेतबारीकै उत्पादन हुन् । यस पर्वको खानपिन वातावरणमैत्री मानिन्छ । गर्मीको बिदाइ र शरद ऋतुको स्वागतका बेला छठ पर्व मनाइन्छ ।

विभिन्न वस्तु प्रसादका रूपमा छठी मातालाई चढाइन्छ । यो पर्वले देखावटी परिपाटीलाई पूर्णरूपमा निषेध गरेको छ । किसानले आफ्नो बारीमा फलाएका कृषि उपजको प्रदर्शनी गरिने जानकारहरु बताउँछन् । ‘कसको बारीमा के फलेको छ रु के उब्जिएको छ भन्ने कुरा छठीघाटमा राखिएको पूजासामग्रीबाट सबैले थाहा पाउँछन्’, किसान दीपेन्द्र साहले भने ।

छठले सांस्कृतिक रूपमा विशिष्ट स्थान ओगटेको छ । संस्कृति मानवीय जीवनपद्धति र मान्छेले धारण गर्ने वस्त्रसँग सम्बन्धित मानिन्छ । संस्कृतिविद् एवं जानकार राजर्षिजनक विश्वविद्यालाय जनकपुरधामका रजिस्ट्रार सत्यनारायण साहले संस्कृति मानव जीवन पद्धति भएको बताउनुभयो । छठले यसलाई प्रतिविम्बित गर्ने उनको भनाइ छ ।

सामाजिक एकता
छठ पर्व मनाउने सनातन धर्मावलम्बीबीच विविधता छ । समुदायगत, जातिगत, भाषागत भिन्नता उस्तै छ । “तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै वैमनस्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन,” जानकार नित्यान्द मण्डलले भन्नुभयो । कुनै समय हिन्दुहरूले मात्रै मनाउँदै आएको छठ अब मुस्लिमहरूले पनि मनाउन थालेका छन् ।

छठले समाजको विविधतालाई एकताको मालामा उन्ने उहाँले बताउनुभयो । छठघाटमा सबै जातजाति, धर्मावलम्बीको पूजा सामग्री राखेको दौरा, छैंटी श्रीपताको लस्करै राखिन्छन् ।

प्रतिक्रिया