कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह

गण्डकी । लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ ।
लामो समयदेखि चासो र चर्चामा उक्त नाका गत बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । कार्यालय उद्घाटनका लागि गृहमन्त्री रमेश लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सुरक्षा निकायका नेतृत्वसहित कोरला पुगेका थिए । सोही दिन मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं १ छोसेरस्थित नेचुङमा नवनिर्मित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवन पनि उद्घाटन गरियो ।
सो अवसरमा मन्त्री लेखकले वर्तमान सरकार गठन भएको १०८ दिनमा कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गर्न सकिएको बताए । सरकारले सय दिन समयवधिमा नै कार्यालयको उद्घाटन गर्ने तयारी गरेको थियो ।
मन्त्री लेखकले यस नाकाबाट यस अघि दुुई देशका नागरिक मात्र प्रवेश पत्रका आधारमा आवतजावत गर्नुुपर्ने बाध्यता अन्त्य हुँदै यस नाकाबाट चीन र चीनबाट नेपाल आवतजावत गर्नका लागि भिसा सेवा प्रारम्भ भएको बताए । अध्यागमन कार्यालय सञ्चालन सरकारको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले आगामी दिनमा यसको सहज सञ्चालनका लागि पूर्वाधार विकासका साथै सेवा विस्तारमा जोड दिइने विश्वास दिलाए ।
कोरला नाका मुस्ताङका लागि मात्रै नभई गण्डकी प्रदेशकै ‘लाइफ लाइन’ भएको उल्लेख गर्दै मन्त्री लेखकले यस नाकालाई नेपालकै महत्त्वपूर्ण नाकाका रुपमा विकास गरिने बताए । नेपाल र चीनबीच व्यापार, पर्यटन, धार्मिक पर्यटन लगायतको गन्तव्यका रुपमा यसको विकास हुने उनले विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नाकाको सुव्यवस्थित सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । नाकालाई नै लक्षित गरी पोखरा हुँदै म्याग्दी भएर आउने सडक खण्डको स्तरोन्नति तथा विकासका कुरालाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ । नाका गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे ।
कोरला नाका सञ्चालनमा ल्याउनुपर्ने विषय उठीरहेका अवस्थामा गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा अध्यागमन कार्यालय सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट कोरलामा छ कोठे ‘एसवाई प्यानल’ को भवन निर्माण गरिएको हो ।
नेपालतर्फ पूर्वाधार निर्माण कार्य अघि नबढे पनि चीनले भने आफ्नोतर्फ पूर्वाधार निर्माणका धेरै काम सम्पन्न गरिसकेको छ । चीनले कोरला नाकामा आफ्नोतर्फबाट धेरै अत्याधुनिक किसिमका संरचना निर्माण गरिसकेका अवस्थामा नेपालले गरेको अध्यागमन कार्यालयको उद्घाटन लगायतका कामलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया