सोमबार, वैशाख ८, २०८२

विवादमा रजतपटः सात संस्था प्रकाशको विरुद्धमा

नेपालखोज २०७७ साउन ३२ गते १३:४७

काठमाडौं । यतिबेला एपी वानमा टेलिभिजनमा प्रशारण हुने ‘रजतपट’ कार्यक्रम विवादमा छ । कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले अभिनेत्रीको शारीरिक बनावटलाई लिएर दिएको अभिव्यक्तिले यो कार्यक्रम विवादमा परेको हो । सुवेदीको उक्त शब्द आफूप्रति लक्षित रहेको भन्दै अभिनेत्री पूजा शर्मा कानुनी उपचारमा लागिपरेकी छन् । अभिनेत्री शर्माले फिल्म सम्बद्ध विभिन्न संघ संस्थामा उजुरी पनि दिएकी छन् । यद्यपि, सुवेदीले भने यस घटनाबारे माफी मागिसेका छन् । यस घटनाका बारेमा उनीहरु पक्ष–विपक्ष बनेर चलचित्र क्षेत्रमै आवद्ध सामाजिक सञ्जालमा जुहारी खेलिरहेका छन् ।

यसै घटनालाई लिएर अभिनेत्री शर्माको निवेदनप्रति नेपाली फिल्मका ७ संस्था (चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघ)ले एैक्यवद्धता जनाउँदै पत्रकार सुवेदीले सञ्चालन गर्दै आएको ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ कार्यक्रममा सहभागी नहुन फिल्मकर्मीहरुलाई आग्रह गरेको छ । दुई पक्षबीच सहमति नभएसम्म अथवा कानुनमार्फत् समस्या नसुल्झिएसम्म कलाकारलाई उक्त कार्यक्रमहरुमा सहभागी नहुन फिल्म सम्वद्ध सात संस्थाले आग्रह गरेका हुन् ।

‘चलचित्र, चलचित्रकर्मी र विशेष गरेर नायिकाहरुलाई तुच्छ टिप्पणी गर्ने र हिंसाजन्य क्रियाकलाप गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि सबै चलचित्रकर्मीहरुले ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ कार्यक्रममा प्रस्तुत विषयबाट उब्जिएको विवाद वार्ता वा कानुनमार्फत् नसुल्झिएसम्म कुनैपनि सहभागिता नजनाउनुहुन चलचित्रकर्मीहरुलाई अनुरोध गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख छ ।

प्रकाश सुवेदीले माफी माग्दासमेत कार्यक्रममा सहभागी नहुन आग्रह गर्दै सात संस्थाले एैक्यवद्धता जनाउँदै जारी गरेको प्रेस विज्ञप्ती पनि विवादित बनेको छ ।

प्रतिक्रिया