मंगलबार, वैशाख ९, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

नेपालखोज २०८१ मंसिर १५ गते १९:१९

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमती लामबगर शान्तिटोल गेट नजिक सडकमा बा.४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर बसमा सवार नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र ताँदी गाउँपालिका–१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको शनिबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै बसबाट खसेर घाइते भएका बसका सह–चालकलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङको रंगेली नगरपालिका–८ चैनडाँडास्थित सडकमा चैनडाँडाबाट शान्ति चोकतर्फ जाँदै गरेको को.२ त ३१७२ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक चालक सोही नगरपालिका–८ शान्ति चोक बस्ने ३७ वर्षीय लाला हेमरम भन्ने प्रतु हेमरमको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि रंगेली अस्पताल पठाइएको छ ।

पर्साको जगरनाथापुर गाउँपालिका–१ पिडारीस्थित सडकमा प्र.२–०३–००१ त ३६३० नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय बिरेन्द्र साहको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी पर्साको वीरगंज महानगरपालिका–१७ अलौ चोक छवगछियास्थित सडकमा ना.८ ख २६११ नम्बरको टिपरले बिआर २२ बिजि १४५२ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार जिराभवानी गाउँपालिका–५ सखुवनिया बस्ने ३० वर्षीय प्रभु राउत थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ धाराबजारस्थित सडकमा लु.२ ख १४१५ नम्बरको बसको ठक्करबाट पैदलयात्री शितगंगा नगरपालिका–४ अमराई बस्ने १२ वर्षीया बिनिता विकको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त बसको ठक्करबाट घाइते भएकी १ जनालाई थप उपचारको लागि चौरहा अस्पताल बुटवल रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–२५ याम्दीस्थित सडकमा घान्द्रुकबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १४६० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री रूकुम पूर्व घर भई कास्की पोखरा महानगरपालिका–२५ याम्दी बस्ने ५५ वर्षीया धन कुमारी बुढाको शुक्रबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँस्थित सडकमा डोल्पाबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख १३९६ नम्बरको बसको ठक्करबाट पैदलयात्री नलगाड नगरपालिका–१ चिउरी बस्ने ३७ वर्षीय सुरेश महरको शुक्रबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहाको सिरहा नगरपालिका–१९ सन्हैठा चोकमा औरहीबाट सिराहातर्फ जाँदै गरेको प्रदेश २– ०१–००१ प ८५२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय पतिराम चौधरीको शुक्रबार साँझ मृत्यु भएको छ । उक्त मोटरसाइकल तथा बिआर ०१ एसएम ४८१३ नम्बरको कारले समेत ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि ‍न्यूरो अस्पताल बिराटनगर रिफर गरिएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिराहाको सिरहा नगरपालिका–९ गुलरिया चोकमा सिराहाबाट चौहर्बातर्फ जाँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक नवराजपुर गाउँपालिका–१ तानासुया बस्ने ४५ वर्षीय रंजित मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर रिफर गरिएको छ ।

रौतहटको राजदेवी नगरपालिका–१ पथरास्थित सडकमा पथराबाट बडहर्वातर्फ जाँदै गरेको बिआर ३० एके १४६५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक सर्लाही चक्रघट्टा नगरपालिका–४ बेलही टोल बस्ने २५ वर्षीय निशान्त अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं महानगरपालिका–१५ हलचोकस्थित खाली चौरमा सोही महानगरपालिका–८ गोठाटार घर भएका ३७ वर्षीय ईशान कोईराला शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका–४ करैया बस्ने ५५ वर्षीय धयनवा चौधरी सोही नगरपालिका–७ तरकारी बजार नजिकै रहेको पाकर गाछीको चौतारामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । काभ्रेको माहाभारत गाउँपालिका–३ देउराली बस्ने ५९ वर्षीय रेख बहादुर रखुवाल सोही गाउँपालिका–५ तिनखुट्टेस्थित खानी खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । पाँचथरको पाँचथर गाउँपालिका–६ खत्र गाउँ बस्ने ७० वर्षीय तिल बहादुर खत्रक(लिम्बु) सोही ठाउँस्थित पखेरे भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित कंचनजंगा होटलमा सोही नगरपालिका–१० धुलावारी बस्ने ४८ वर्षीय मनोज पराजुली शनिबार मृत अवस्थामा फेला परेका छन् । जाजरकोटको नलगाड नगरपालिका–१ निलगड्डीस्थित ठुली भेरीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया