सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा रोकी राखेको बा.४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका–१४ मुरलीवगैंचा घर भई काठमाडौं काँडाघारी हात्तिडाँडा बस्ने ४५ वर्षीय संजय सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ हाकुबेशीस्थित सडकमा हाकुबेशी ड्यामसाईडबाट हाकुबेशीतर्फ आउँदै गरेको बा.प्र.०२–०११ प ४६०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक आमाछोदिङ्मो गाउँपालिका–१ हाकुबेशी घर भएका २० वर्षीय राम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
चितवनको राप्ती नगरपालिका–५ खहरे पुलस्थित सडकमा काँकडभित्ताबाट चितवनतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख ४१३८ नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्ती नगरपालिका–६ बस्ने ६२ वर्षीय मनुराम महतोको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित सडकमा सु.प.प्र.०१–०११ प ४७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक जानकी गाउँपालिका–१ बस्ने ३५ वर्षीय बिमल डंगौरा थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब २३ हजार ५ सय ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद
भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २३ हजार ५ सय ट्याब्लेट शनिबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी भोक्राहाबाट खटिएको प्रहरीलाई देख्नासाथ चिरौलीबाट प्रकाशपुरतर्फ जाँदै गरेको प्र.१–०२–०४३ प ६८७१ नम्बरको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरूले मोटरसाइकल र बोरा छोडी फरार भए पश्चात बोरा तलासी गर्दा प्रहरीले उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
प्रहरीले मोटरसाइकलमा सवार हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया