मंगलबार, वैशाख ९, २०८२

सतर्क रहौं, सुरक्षित बनौं

नेपालखोज २०७७ भदौ ३ गते १९:०८

काठमाडौं । लक्षणसहितका कोरोना संक्रमित बढ्दै जाँदा आफुलाई पनि संक्रमण भएको हुनसक्ने आशंकामा कोरोना परीक्षण गराउनेको संख्या बढेको छ । नेपालमा लकडाउनको समयमा सामान्य देखिएको कोरोना संक्रमणदर लकडाउन खुलेसँगै वृद्धि भएको छ । पछिल्लो समय संक्रमण समुदायस्तरमै तिव्र बन्दै गएको र जटिल समस्या पनि देखिन थालेपछि कोरोनाको लक्षण देखा परेका मानिसहरु संक्रमणको आशंकामा अस्पतालमा परीक्षणका लागि पुग्ने गरेका छन् ।

तर, त्यसरी संक्रमण आशंकामा परीक्षण गराउन पुग्ने व्यक्तिहरुले संक्रमण फैलन नदिन सतर्कता भने नअपनाएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरी पीसीआर परीक्षण गराउनका लागि नमुना दिन आउने सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीर कुमार अधिकारीले यसरी संक्रमण आशंकामा परीक्षण गराउन जाने व्यक्तिहरुमा पोजेटिभ हुने सम्भावना बढी हुने भएकोले नमुना दिन जाँदा तथा फर्किसके पछि पनि सावधानी अपनाउन आग्रह गरेका छन् ।
सरकारले कोरोना संक्रमण रोकथामका लागि लामो समय लकडाउन गरी सबै क्षेत्र ठप्प पारेको थियो तर, संक्रमण कम हुँदै जाँदा लकडाउन खुकुलो पारेपछि सरकारले पालना गर्न भनेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा पुनः संक्रमण तिव्र हुनुका साथै मृत्युदर समेत उच्च हुँदै गईरहेको छ ।

यसरी संक्रमण फैलनुमा सर्वसाधारण पनि उत्तिकै जिम्मेवार रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सर्वसाधारणले समेत सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । हाम्रै व्यवहारले संक्रमण बढिरहेको भन्दै सरकारले जे–जस्तो निर्णय गरेपनि हामीले आफ्नो व्यवहार सुधार्नुपर्ने मन्त्रालयका सह–प्रवक्ता अधिकारीको भनाइ छ ।

तर, सरकारले आफुले लागु गरेका नियमहरु पालना गराउन भूमिका खेल्न नसक्दा पनि यस्तो अवस्था सिर्जना भएको जनस्वास्थ्यविद्हरुको आरोप छ । हालसम्म पनि कोरोना परीक्षण गराउन विभिन्न प्रयोगशाला अगाडि नमूना संकलनका लागि सयौं मानिस ठेलमठेल गरेर लाइनमा बस्ने गरेको भन्दै उनीहरुलाई नियम पालना गराउन सम्वन्धित निकायले चासो नदिएको जनस्वास्थ्य विज्ञ रमेश आचार्यको भनाई छ ।

सुरुवाती दिनमा संक्रमितहरुमा कुनै लक्षण नदेखिएको र स्वास्थ्यमा पनि कुनै समस्या नहुँदा कोरोना भाइरस सामान्य हो भन्ने मानसिकता मानिसहरुले बनाउन थालेका थिए । मानिसहरुको गलत बुझाईका कारण सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड पनि पालना नगर्दा हाल घनावस्ती भएका ठाँउहरुमै तिव्ररुपमा संक्रमण फैलिरहेको भन्दै आफ्ना परिवारलाई बचाउने वा मृत्युसम्म पुर्याउने हाम्रै हातमा रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जनस्वास्थ्यविद् आचार्यले अनुरोध गरेका छन् ।

राज्यले उचित कदम नचाल्दा तथा हामी आम नागरिकको हेलचेक्र्याँइले देश कोरोना महामारीको दलदलमा फसिरहेको छ । भने संक्रमण कम भयो भनेर खुकुलो पारिएको लकडाउन फेरी लागु गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले अझै पनि स्वास्थ्य सतर्कता अपनाऔं आफुलाई संक्रमणबाट बचाई राज्यलाई कोरोनाबाट विजय गराउन सहयोग गरौं ।

 

प्रतिक्रिया