छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–११ जमुवाडस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१४ रक्सहवास्थित सडकमा ना.२ ह २४३४ नम्बरको अटो रिक्साबाट खसेर अटोमा सवार सोही नगरपालिका–१७ पटखौली बस्ने ५२ वर्षीय भोनु प्रसाद केवटको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–१९ थुमौनास्थित सडकमा ज.११ प ६८५६ नम्बरको मोटरसाइकल र स.८ प ३४७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा स.८ प ३४७७ नम्बरको मोटरसाइकल चालक सबैला नगरपालिका–२ बस्ने ५५ वर्षीय नारायण प्रसाद साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स.८ प ३४७७ नम्बरको मोटरसाइकलमा सवार नारायण प्रसादको श्रीमतीको रामा अस्पताल जनकपुरमा उपचार भइरहेको छ । ज.११ प ६८५६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित सडकमा हाल नम्बरको नखुलेको गाडीले ज.२ प ७९९२ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी औरही नगरपालिका–५ श्रीपुर बस्ने २३ वर्षीय दिलिप मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल लालबन्दी हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको त्रिदेव अस्पताल रानिगंजमा उपचार भइरहेको छ । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरीको ईनरूवा नगरपालिका–६ भोटेपुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९३ वर्षीय अमर बहादुर अधिकारीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्से आर्मी ब्यारेक अगाडि सडकमा बोक्सेबाट गाईघाटतर्फ जाँदै गरेको बा प्र–०१–००६ ख ५८७१ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–११ चपन बस्ने ५० वर्षीय परनशेर राईको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । हाईसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३ गुलरीस्थित सडकमा लु.२ ख २३१ नम्बरको बस, बा.१४ च ७४४८ नम्बरको कार र लु.३८ प ९१९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा बा.१४ च ७४४८ नम्बरको कारमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कारका चालक वाणगंगा नगरपालिका–४ हरीहरपुर बस्ने ४५ वर्षीय ईन्द्र बहादुर सार्कीको जिल्ला अस्पताल तौलिहवामा र कारमा सवार प्युठान घर भएका ४३ वर्षीय निम बहादुर सारूको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार १ जनाको मेडिकल कलेज भैरहवामा र मोटरसाइकलमा सवार २ जनाको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको कन्काई नगरपालिका–८ लक्ष्मीपुर पूर्व बस स्टेनस्थित सडकमा बिर्तामोडबाट सुरूङ्गातर्फ जाँदै गरेको ना.४ च ४०८४ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय गर्बसिंह राईको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–८ इमलिप्रतिस्थित आरएमसि मेटल कम्पनीभित्र प्र.२–००१ क१०४३ नम्बरको हाईड्रा (क्रेन)को ठक्करबाट सोही कम्पनीमा काम गर्ने सर्लाही घर भएका ५२ वर्षीय पर्शुराम चौधरीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका–८ बत्तिसपुतली नजिक राष्ट्रिय मारवाडी परिषद्को नयाँ बन्दै गरेको भवनको चौथो तलामा निर्माणाधिन घर बनाउँदै आइरहेको कामदार बर्दिया राजापुर नगरपालिका–१० घर भएका ५५ वर्षीय वीर बहादुर चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–३ ठाटी बस्ने किरण थारूको १८ महिनाको छोरा घनश्याम थारू आफ्नै घर नजिक नहरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–२९ पट्नेरीस्थित खरबारी भिरमा तनहुँ शुक्ला गण्डकी नगरपालिका–५ दुरुङचुङ घर भई हाल सोही नगरपालिका–५ खैरेनीटार बस्ने २१ वर्षीय कुशल थापा मगर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेखको दुल्लु नगरपालिका–५ गाईखुरे खोलामा सोही नगरपालिका–६ छुडुङ बस्ने ३४ वर्षीय जगत बहादुर खड्का शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया