बुधबार, वैशाख १०, २०८२

मालीमा सैनिकहरुले नागरिक सरकार बनाउने

नेपालखोज २०७७ भदौ ४ गते १४:०८

काठमाडौं । पश्चिम अफ्रिकी देश मालीमा सेनाले गरेको सत्तापलटपछि राष्ट्रपतिले राजीनामाको घोषणा गरेका थिए । उनको घोषणासँगै सेनाले नागरिक सरकार गठन गर्ने जनाएको छ ।

सेनाले गरेको सत्तापलटको विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरबाट गरिएको निन्दामा संयुक्त राष्ट्रसंघ पनि जोडिएको छ । सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएको घोषणा गरेका थिए ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकले क्षेत्रीय संगठनहरूले जस्तै आवाज उठाएको छ । उसले अझै पनि सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति केयटासहित सबै सरकारी अधिकारीहरूलाई तत्काल मुक्त गर्न र संवैधानिक व्यवस्था पुनस्र्थापित गर्न माग गरेको छ । अफ्रिकी संघले यसअघि मालीको सदस्यता निलम्बन गरिसकेको छ । अमेरिका र फ्रान्सले पनि उक्त घटनाको निन्दा गरेका छन् । तर, सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन कदम चालेको बताएका छन् ।

नागरिक सरकार गठन गर्ने र नयाँ चुनाव गराउने उनीहरूको भनाइ छ । राजधानी बमाकोमा बोल्दै उनीहरूले आफूहरूले शक्ति साँच्न नचाहेको उल्लेख गर्दै नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने बताए । उनीहरूले आफूहरूका कारण राजीनामा दिन बाध्य भएका राष्ट्रपतिको कदमको स्वागत गर्दै शुक्रवार विजय र्यालीको आह्वान गरेका विपक्षी नेतासँग भेट गरेका छन् । – बीबीसी

प्रतिक्रिया