छुट्टाछुट्टै सवारी दुर्घटनामा नौं जनाको मृत्यु

झापाको कमल गाउँपालिका–५ ज्योती चोकस्थित सडकमा प्रदेश १–०२–००१ ख ९७०६ नम्बरको बसले प्रदेश १–०१–०२ ह ९०१ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारी चालक दमक नगरपालिका–९ बस्ने ५० वर्षीय राम गुरागाईको मृत्यु भएको छ ।
शनिबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । उक्त बसले प्रदेश १–०१–००२ च ८४० नम्बरको कार र डब्लुबि ७४ एएक्स २८२९ नम्बरको कारलाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका बस चालकको न्यूरो अस्पताल बिराटनगर मोरङमा र सिटी सफारीमा सवार १ जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
सिराहको सिरहा नगरपालिका–१० पदमपुरमा स.१ त ५५२५ नम्बरको ट्याक्टरले किचिएर सोही ठाउँ बस्ने अमित मण्डलको छोरा २ वर्षीय रियान्स मण्डलको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरीको रामधुनी नगरपालिका–९ डुम्राहा टोलमा प्रदेश १–०२–००४ ह १४८१ नम्बरको सिटी सफारी अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५० वर्षीय पुरण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा मृत्यु भएको हो ।
भक्तपुरको सुर्यबिनायक नगरपालिका–१० जोरपाटीस्थित सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४६ प ११२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई भक्तपुर नलिन्चोक बस्ने ७० वर्षीय निम बहादुर मगरको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट चोकस्थित सडकमा बिराटनगरबाट बिराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका–१ बस्ने २२ वर्षीय आशिक मरिक र मोटरसाइकलमा सवार उनकै बुबा ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विराट नर्सिङ होम अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूपन्देहीको सैनामैना नगरपालिका–६ दुद्दराक्षस्थित सडकमा लु.३० प ३५९१ नम्बरको स्कुटरलाई लु.९१ प ११८४ नम्बरको मोटरसाइकलले शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीया लक्ष्मी भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–५ महाबिर खल्लास्थित सडकमा से.१ त ३३७९ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३२ वर्षीय बिमल रानाको घटनास्थलमै मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका–५ बिश्रामपुरस्थित सडकमा ज.१३ प ५२१ नम्बरको मोटरसाइकल, बिआर ०१ जिएच ९३९० नम्बरको ट्रक र ज.११ प ६२६८ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक मिथिला नगरपालिका–५ बस्ने ४५ वर्षीय अरूण ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया