प्रदेश २ मा मात्रै कोरोनाबाट ५२ को मृत्यु
काठमाडौं । मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश नं २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५२ जनाको कोरोनाको सङ्क्रमणको कारण मृत्यु भएको छ ।
यस प्रदेशअन्तर्गतका ८ वटै जिल्ला कोरोना सङ्क्रमणको चपेटामा परेको छ । ती मध्ये सबैभन्दा बढी पर्सा जिल्ला मारमा परेको देखिएको छ । सो जिल्लामा कोरोनाबाट २५ जनाको ज्यान गइसेकेको छ । दोस्रोमा धनुषा जिल्लामा ९ जनाको मृत्यु भएको छ । त्यस्तै, बारामा ६, सप्तरीमा ४, रौतहटमा ३, महोत्तरी र सिरहाबाट २÷२ र सर्लाही जिल्लामा १ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बिहीबार अपराह्नसम्म यस प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ८ हजार ६३ पुगेको छ । ती मध्ये ३ हजार ९८४ जना उपचार गराई घर फर्केका छन् भने ३ हजार ८९५ जनाको उपचार भइरहेको छ । प्रदेशमा स्वाबको नमूना संकलन कार्य तीव्र रुपमा भइरहेको छ । अहिलेसम्म ८५ हजार ७६४ को स्वाबको नमूना संकलन गरिएको छ । सङ्कलित स्वाबमध्ये ७२ हजार ७८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ९१२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
भारतबाट आउने वा सशङ्कित व्यक्तिका लागि यस प्रदेशमा निर्माण गरिएको २१७ वटा क्वारेन्टाइनमा १३ हजार ७४८ वटा शय्याको व्यवस्था गरिएको छ । ती क्वारेन्टाइनमा १ हजार ३२७ जनालाई राखिएको छ भने होम क्वारेन्टाइनमा २ हजार १८८, आइसोलेशनमा ४६१ र होम आइसोलेशनमा ७६२ जना बसेका छन् ।
यस प्रदेशका ८ वटै जिल्लाको सीमाना भारतसँग जोडिएको छ । सीमामा आवतजावत रोक लगाइएको भएपनि लुकिछिपी भित्रिने व्यक्तिमध्ये कतिपय कोरोनाबाट सङ्क्रमित पाइएका छन् । त्यस्ता व्यक्तिहरु परिवारमा घुलमिल गरेर बसेपछि कोरोनाको सङ्क्रमण ह्वात्तै बढेको देखिएको छ ।
प्रतिक्रिया