मंगलबार, वैशाख ९, २०८२

शुक्रबार ८ सय ३८ सहित कोरोना सङ्क्रमित ३० हजार नाघे, एकैदिन ११ को मृत्यु, परीक्षणमा ३ अर्ब १९ करोड खर्च

नेपालखोज २०७७ भदौ ५ गते १९:२९

काठमाडौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । देशभर आज ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज थपिएकामा ५४६ पुरुष र २४२ महिला छन् । हालसम्म १८ हजार २१४ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा २५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

देशभर हाल १३३ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए । हाल देशभर १२ हजार १३२ जना सक्रिय सङक्रमित रहेका छन् । यस्तै १२ हजार २३४ क्वारेन्टिनमा तथा १२ हजार १३२ जना आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं १ को सात जिल्लामा ८९, प्रदेश नं २ को ७ जिल्लामा १७९, बागमती प्रदेशको १० जिल्लामा २५०, गण्डकी प्रदेशको ६ जिल्लामा २७, प्रदेश नं ५ को १० जिल्लामा ५९, कर्णाली प्रदेशको ४ जिल्लामा ५८ तथा सुदूरपश्चिमको ६ जिल्लामा १७६ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

एकैदिन ११ को मृत्यु
कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २३ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेको संख्या यो हालसम्मकै बढी हो । मृत्यु हुनेमा काठमाडौँ, ललितपुर, चितवन, बारा, पर्सा, मोरङ, सप्तरी, सर्लाही र मकवानपुरका एक–एक पुरुष तथा दोलखाकी एक महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।

पीसीआर परीक्षणमा ३ अर्ब १९ करोड
काठमाडौं । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि हालसम्म रु तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च गरेको छ । प्रवक्ता गौतमका अनुसार देशभर ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरिएको छ । एकजना कोरोना पोजेटिभ पत्ता लगाउन रु एक लाख चार हजार खर्च हुने गरेको उनले बताए ।

प्रतिक्रिया