आइतबार, वैशाख ७, २०८२

सूचना आयुक्त र पत्रकार महासंघका पदाधिकरीलाई शेफर्ड कलेजको स्वागत

नेपालखोज २०८१ पुष १५ गते १५:०२

काठमाडौं । शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले सूचना आयोगका प्रमुख आयुक्त, आयुक्त, नवगठित सार्वजनिक सेवा प्रसारणका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ ।

शान्तिनगरस्थित कलेजमा आइतबार आयोजित कार्यक्रममा डिभी एजुकेसन ग्रुपका अध्यक्ष विश्वनाथ शाह तथा शेफर्ड  कलेजकी प्रिन्सिपल कविता शर्माले अतिथिलाई स्वागत र मायाको चिनो प्रदान गरे । 

कार्यक्रममा सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्य तथा आयुक्त द्वय गगन विष्ट र दुर्गा भण्डारी, सार्वजनिक सेवा प्रसारणका अध्यक्ष डा. महेन्द्र विष्ट, नेपाल पत्रकार महासङ्घकी नवनिर्वाचित सभापति निर्मला शर्मा तथा पदाधिकारी तथा आर्थिक पत्रकार सङ्घकी अध्यक्ष मेनुका कार्कीलाई स्वागत तथा स्वागत गरिएको थियो । 

कार्यक्रममा प्रमुख सूचना आयुक्त सुरेश आचार्यले नेपालमा पत्रकारिता क्षेत्रको विकासका लागि पत्रकारिता अध्यापन गराउने कलेजको भूमिका महत्त्वपूर्ण हुने बताए । आयोगले पनि यसमा ध्यान दिने उनको भनाइ थियो । सार्वजनिक सेवा प्रसारणका अध्यक्ष महेन्द्र विष्टले पत्रकारले सूचनालाई सही समाचारको रूपमा पस्किनुपर्ने बताए। समयसँगै पत्रकार प्रविधिसँग परिचित हुनुपर्नेमा उनले जोड दिए ।

पत्रकार महासङ्घकी सभापति निर्मला शर्माले सामाजिक सञ्जालमा स-साना क्लिपले जति धेरै सूचनाको पहुँच पुर्‍याएका छन् अरू छापा वा अनलाइनले त्यतिको पहुँच नपुर्याउने धारणा राखिन्। ’पत्रकारिता सिक्दै गरेका जो कोहीको पनि मल्टिमिडियामा राम्रो भविष्य छ र सरकारले यसमा अझ धेरै लगानी बढाउनुपर्छ ।

सामाजिक दक्खल पुग्ने किसिमका गलत प्रचार र सूचना कसरी निर्मूल बनाउन सकिन्छ भन्ने कुरा अहिलेको चुनौती थपिएको छ । यस किसिमका भ्रम चिर्नको लागि पनि मल्टिमिडिया सबैभन्दा उपयुक्त बन्न सक्छ। पत्रकारिता पढ्दै गरेका विद्यार्थीको यस सेक्टरमा राम्रो भविष्य पनि छ । त्यसैले मल्टिमिडियालाई अलि प्राथमिकता दिनुपर्छ,’ उनले भनिन् । 

नाफिज अध्यक्ष मेनुका कार्कीले नेपालमा अबको पत्रकारिताको भविष्य मल्टिमिडियामा रहेको बताइन् । ’मल्टिमिडियालाई पनि सरकारले अलि पारदर्शीताका साथ प्राथमिकता दिनुपर्छ,’ उनले भनिन् ।  अतिथिलाई स्वागत गर्दै डिभी एजुकेसन ग्रुपका अध्यक्ष विश्वनाथ शाहले आउने दिनमा महिला पत्रकारको सङ्ख्या कसरी बढाउन सकिन्छ भनेर पत्रकारिता पढाउने कलेजले ध्यान दिनुपर्ने धारणा राखे ।

’हामीले सञ्चालन गर्दै आएको यस कलेजले पनि यसलाई आत्मसात् गरेको छ । पत्रकारिता सिकाउने कलेज भएकाले ठुला मिडिया हुन् वा साना सरकारले गर्ने व्यवहारमा समान रूप होस् भन्ने चाहेका छौँ,’ उनले भने । 

शेफर्ड कलेजकी प्रिन्सिपल कविता शर्माले मिडिया अध्ययनका लागि शेफर्ड कलेज उपयुक्त रहेको बताइन् । कलेजले समयसापेक्ष रूपमा कोर्स परिमार्जन गर्दै लैजाने उनले प्रतिबद्धता जनाइन् । 

प्रतिक्रिया