आइतबार, वैशाख ७, २०८२

सामना बैंकिङ पुरस्कार बीएन घर्तीलाई

नेपालखोज २०८१ पुष १६ गते १५:११

काठमाडौं । सामना बैंकिङ पुरस्कार गुठीले २०८१ सालको पचहत्तर हजार रुपैयाँ राशिको सामना बैंकिङ पुरस्कार बैंकिङ विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ । उक्त पुस्तक बैंकिङ एन्ड इन्स्योरेन्स प्रा. ली. ले प्रकाशन गरेको थियो । 

उनलाई उनले लेखेको पुस्तक बैकिङ अनुशासन दिगो विकासका लागि पुस्तकका लागि पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए । 

प्रा. डा. विश्वम्भर पोखरेल, प्रा.डा. गोविन्द नेपाल र बैंकर तथा साहित्यकार कृष्ण प्रधान रहेको मूल्यांकन समितिले उक्त पुरस्कार घर्तीलाई प्रदान गर्नका लागि सिफारिस गरेको थियो । नेपाल बङ्गलादेश बैंक, एनआईसी बैंक र किष्ट बैंकमा समेत काम गरेका बीएन घर्ती किष्ट बैंकको का.मु प्रमुख कार्यकारी अधिकृत समेत भएर कार्य गरेका थिए ।

किष्ट बैंक प्रभु बैंकमा गाभिएपछि स्वैच्छिक अवकाश लिएका घर्तीले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति, उच्च व्यवस्थापन र अन्य कर्मचारीलाई तालिम दिने र नीति, कार्यविधि, रणनीतिक योजना आदि बनाउन परामर्श दिने कार्य गर्दै आएका छन् । 

उनको परामर्शमा केही वित्तीय संस्था समस्याग्रस्त अवस्थाबाट बाहिर फर्केका छन् र केही वित्तीय संस्था मर्जर प्राप्तिमा समेत गएका छन् ।

घर्तीले लेखेको पुस्तक प्रडक्टका दृष्टिकोणबाट उत्कृष्ट रहेको, समेटिएका र विश्लेषण गरिएका विषय अत्यन्तै सान्दर्भिक रहेको र विषय बस्तुलाई अत्यन्तै मिहिन तरिकाले केलाइएकाले आफूहरूले पुरस्कारका लागि सिफारिस गरेको मूल्यांकन समितिका अर्का सदस्य कृष्ण प्रधानले बताए । 

नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर गणेश बहादुर थापा र डा. तिलक रावल, काठमाडौं विश्व विद्यालयका रजिस्ट्रार प्रा. डा. अच्युत वाग्ले लगायतका अतिथिको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व गुठीका अध्यक्ष डा. रेवत बहादुर कार्कीले गरेका थिए ।   

प्रतिक्रिया