सोमबार, वैशाख ८, २०८२

सुन गोहोरो सहित दुई जना पक्राउ

नेपालखोज २०८१ पुष २२ गते १९:४६

मोरङ । बिराटनगर महानगरपालिका–१३ स्थित कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् ।

सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट बिराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन गोहोरो सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय मोरङ पठाइएको छ ।

नियन्त्रित लागूऔषध बरामद

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ट्याब्लेट सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६८१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको डिक्कीमा राखी ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा काभ्रे बनेपा नगरपालिका–६ बस्ने २७ वर्षीय किरण श्रेष्ठको संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले किरणलाई गोंगबु नयाँ बसपार्कबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रूपन्देहीको कञ्चन गाउँपालिका–१ रामडाँडास्थित सडकमा लु.३ त ४५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–२ मटेरिया बस्ने ६० वर्षीय चिन्का चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–११ मेनचोकस्थित सडकमा स.१ त ७८२१ नम्बरको ट्याक्टरले किचेर प्र.१–०५–००१ प ७६८४ नम्बरको स्कुटर चालक रौतामाई गाउँपालिका–७ मुर्कुची बस्ने ४० वर्षीय बासु खड्काको सोमबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत अवस्थामा फेला

काठमाडौं महानगरपालिका–३० डिल्लीबजारस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया