खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो

ढाका । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जिया उपचारका लागि मङ्गलबार साँझ लण्डन प्रस्थान गरेकी छिन् । ढाका ट्रिब्युनका अनुसार राति ११ः४६ बजे उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेका हुन् ।
राती ८ बजे आफ्नो गुलशन निवासबाट उपचारका लागि लण्डनतर्फ निस्किएकी ७९ वर्षीय जिया कलेजो सिरोसिस, मुटुरोग, मृगौलालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित छिन् । उनलाई उपचारका लागि लण्डनक्लिनिकमा भर्ना गरिने बताइएको छ । जियाका साथमा उनका चिकित्सक, परिवारका सदस्य र सहयोगीहरू थिए भने कतार सरकारका डाक्टरहरूको टोली पनि विमानमा सवार भएको थियो । जियालाई लण्डन लैजान कतारको रोयल एयर एम्बुलेन्स सोमबार साँझ ७ः४० बजे ढाका आइपुगेको थियो ।
जियालाई लण्डन लैजाने तयारी भएको सूचनासँगै उनले प्रस्थान गर्नुअघि ठूलो सङ्ख्यामा बीएनपी नेता र कार्यकर्ताहरू गुलशनस्थित जियाको निवास फिरोजा नजिकै भेला भएका थिए। बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर साँझ सवा ६ बजे फिरोजामा पुगेका थिए भने उनले भेला भएका समर्थक र शुभेच्छुकलाई व्यवस्थित रहन र सडक खाली राख्न आग्रह गरेका थिए ।
लण्डन भ्रमणलाई बीएनपीका वरिष्ठ नेताहरूले राजनीतिक यात्राभन्दा पनि चिकित्सकीय भ्रमणको रूपमा व्याख्या गरेका छन्। खालिदा जियाले राम्रो स्वास्थ्य सेवा प्राप्त गर्नु र लामो समयपछि आफ्नो परिवारसँग पुनर्मिलन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उनीहरूले बताए ।
प्रतिक्रिया