आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

काठमाडाैं । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका अधिकारीले बिहीबार बताएका छन् ।
भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वेङ्कटेश्वर स्वामी मन्दिरको दर्शनका लागि प्रवेश द्वारमा टोकन लिन ठूलो भीड जम्मा भएका समय एकाएक भागदौड मच्एिको थियो ।
‘हजारौँ धर्मावलम्बी भेला भएको मन्दिर परिसरमा भएको दुर्भाग्यपूर्ण घटनामा ६ जना भक्तजनको ज्यान गएको छ । दिवङ्गत आत्माको शान्तिका लागि म भगवानसँग प्रार्थना गर्दछु,’ राज्यको सत्तारुढ तेलुगु देशम पार्टीका प्रवक्ता प्रेमकुमार जैनले घटनाको पुष्टि गर्दै दु:ख व्यक्त गरे ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरे ।
प्रधानमन्त्रीकोे कार्यालयले सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनिएको छ, ‘यस दु:खद् घडीमा घटनामा ज्यान गुमाएका भक्तजनप्रति श्रद्धाञ्जलि अपृण गर्दछु, साथै, घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्य र आपन्तजनप्रति समवेदना व्यक्त गर्दछु ।’
भारतका प्रमुख धार्मिक चाडमा भीडभाड व्यवस्थापन र सुरक्षाको कमीका कारण धार्मिक स्थलमा घातक दुर्घटना हुने गरेका छन् ।
गत वर्ष जुलाईमा उत्तर प्रदेशमा हिन्दू धर्मावलम्बीको धार्मिक जमघटका क्रममा १२१ जनाको मृत्यु भएको थियो ।
सन् २०१६ मा दक्षिणी केरला राज्यको एक मन्दिरमा नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतशबाजी प्रदर्शनका कारण भएको विस्फोटमा परी ११२ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया