हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई बिहिबार हस्तान्तरण गरेका हुन ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौंको गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाटार, धर्मस्थली, नयाँबसपार्क र बौद्ध लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
बिहिबार बुझाइएका ३३ वटा सहित दुई सय ७३ वटा सवारी साधन साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका २८ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ४० जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । बुझाईएका ३३ वटा सवारी साधनहरु हराएको भनी विभिन्न मितिमा यस कार्यालयमा निवेदन परेका थिए ।
सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०७९/०८० मा चार सय ९९ वटा र ०८०/०८१ मा चार सय १७ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक संजय बहादुर राउतले अनुरोध समेत गरेका छन् । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
प्रतिक्रिया