अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न चार जना पक्राउ

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल बस्ने भारत महाराष्ट्र प्रदेश सतरा फल्टन थाना घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरात, ४० वर्षीय अफसर युनुश शेख, भारत महाराष्ट्र प्रदेश अहमद नगर पाथरडि थाना घर भएका ३० वर्षीय अनमोल खरमाटे र ३२ वर्षीय अमोल भन्ने अंबदास जगन्नाथ सिरसात रहेका छन् ।
काठमाडौं ठमेलस्थित काठमाडौं स्क्वायर होटलबाट चिनियाँ नागरिकलाई योजनावद्ध तवरले ४ जना भारतीय नागरिकहरूले जबरजस्ती एमएच १६ डिजी ४९०४ नम्बरको गाडीमा राखी मंगलबार दिउँसो अपहरण गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरको समन्वयमा मकवानपुर भिमफेदी गाउँपालिका–६ बाट घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी झापा गौरादह नगरपालिका–५ महारानी झोडा ठेगाना भई काठमाडौं नक्साल बस्ने ५३ वर्षीय उपेन्द्र प्रसाद ढुंगानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उपेन्द्र प्रसाद भएको चेक अनादर मुद्दामा जिल्ला अदालत काठमाडौंको २०७३ असार ८ गतेको फैसलाले व्याज सहितको बिगो ३२ लाख ४२ हजार ६ सय ४८ रूपैयाँ र जरिवाना २ हजार रूपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मीकान्त समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय बग्नाहा भुरीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब २ सय १२ किलोग्राम गाँजा बरामद
राक्सिराङ गाउँपालिका–५ चैनपुरबाट अवैध लागूऔषध गाँजा करिब २ सय १२ किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ बा.१० च ७७५८ नम्बरको बोलेरो गाडी छाडी चालक फरार भएपश्चात गाडी तलासी गर्दा प्लाष्टिकले प्याक गरेको २० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–४ अध्यचोकस्थित सडकमा ना.५ च ९४८ नम्बरको बोलेरो र ना.४९ प २९३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा शहिद लखन गाउँपालिका–३ मनकामना बस्ने ५८ वर्षीय यमबहादुर आलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–११ देउपारस्थित सडकमा युपी ५५ एएच ७०९० नम्बरको मोटरसाइकल र लु.१० प ४४९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा युपी ५५ एएच ७०९० नम्बरको मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–१ बस्ने ३५ वर्षीय नेहामन अली र लु.१० प ४४९६ नम्बरको मोटरसाइकल चालक रूपन्देही सैनामैना नगरपालिका–४ बस्ने २७ वर्षीय रोमन थारूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका नेहमानको मेडिकल कलेज भैरहवा रूपन्देहीमा र रोमनको लुम्बिनी सिटी अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दर्घटनामा घाइते भएका लु.१० प ४४९६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको युनाईटेड अस्पताल ठाकुरापुरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया