सोमबार, वैशाख ८, २०८२

अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

नेपालखोज २०८१ माघ १६ गते १७:०५

काठमाडौं । वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् ।

पक्राउ मध्ये भुवनले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १ करोड रूपैयाँ र नितेशले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भुवनलाई काठमाडौं महानगरपालिका–१२ बाट सोमबार र नितेशलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–३ बाट मंगलबार पक्राउ गरेको हो ।

भुवनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र नितेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका–२ बस्ने २४ वर्षीय नबिन पुरी र ३५ वर्षीय कृष्ण लिम्बु रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ५६५३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–२२ भोटेवहालबाट अवैध लागूऔषध पोल्याण्ड करिब १ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रमाडोल ६ सय ६ पिस र नगद १ लाख १० हजार रूपैयाँ सहित सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–२१ लगन डेरा गरी बस्ने २५ वर्षीय अनिल गिरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा.९० प ९४५८ नम्बरको स्कुटीलाई जाँच गर्ने क्रममा चालक फरार भएपश्चात स्कुटर तलासी गर्दा डिक्कीबाट उक्त लागूऔषध फेला पारी स्कुटरमा सवार उनलाई पक्राउ गरेको हो । हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरीको देवानगंज गाउँपालिका–३ बस्ने ३५ वर्षीया सोनी कुमारी यादवलाई अवैध लागूऔषध गाँजा करिब ३९ किलो २ सय ९० ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगंज समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मुलपानीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय जिवन चन्द र ३३ वर्षीय बिक्रम शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगपालिका–१४ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय गोविन्द सुवेदीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित पर्सा घर भएका ३० वर्षीय बिनोद सहनीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०८९० नम्बरको गाडीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ बस्ने २३ वर्षीय सिद्धार्थ भन्ने गगन चन्द र दैलेख आठबीस नगरपालिका–४ मेल्तडी बस्ने २३ वर्षीय दिपेन्द्र माझी रहेका छन् । प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ शहिदगेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित बर्दगोरीया गाउँपालिका–३ बस्ने २५ वर्षीय समिर बमलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको सुन्दरहरैचा नगरपालिका–१० त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ८० ट्याब्लेट सहित केराबारी गाउँपालिका–५ बस्ने ३२ वर्षीय यादव विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया