एपिएफले जित्यो एन्फा महिला लिगको उपाधि
नेपालखोज
२०८१ माघ १६ गते १८:५६

काठमाडौं । नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सविता राना मगरको २ गोलमा एपिएफले पुलिसलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
एपिएफको जितमा सवितासँगै सरु लिम्बू र अनु लामाले समान एक एक गोल गरे । खेलको ६४औँ मिनेटमा अनिता केसीले दिएको बलमा सविता राना मगरले गोल गरिन् । खेलको ६९औँ मिनेटमा एपिएफकी अर्की खेलाडी सरु लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।
खेलको ८३औँ मिनेटमा प्रिति राईको पासमा सविताले अर्को गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अनु लामाले गोल गर्दै टोलीलाई ४-० को जित दिलाइन् । उपाधिसँगै एपिएफले १० लाख रुपैयाँ तथा उपविजेता पुलिसले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया