सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट सोमबार पुनः सफाइ मिलेको छ । लीलाई गत वर्षको एक सुनुवाइमा अभियोगबाट मुक्त गरिएको थियो, तर अभियोजकहरूले उक्त फैसलाविरुद्ध अपिल गरेका थिए ।
एएफपीले प्राप्त गरेको अदालती कागजातमा भनिएको छ, प्रस्तुत गरिएका प्रमाणहरू तर्कसङ्गत शङ्काभन्दा बाहिर आरोप प्रमाणित गर्न पर्याप्त थिएनन् । लीलाई स्टक प्राइस हेरफेर, विश्वासघात र ‘एकाउन्टिङ फ्रड’लगायतका आरोपबाट सफाइ दिइएको हो । योमुद्दा सन् २०१५ मा निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच भएको मर्जरसँग सम्बन्धित छ ।
लीले सियोलको अदालत छोड्ने क्रममा कुनै पनि प्रश्नको जवाफ दिएन तर उनका वकिलहरूले पत्रकारहरूलाई भने, हामी ‘अदालतको बुद्धिमत्तापूर्ण निर्णयको लागि हृदयदेखि धन्यवाद’ दिन्छौँ । यो मुद्दाको अनुसन्धान र सुनुवाइ प्रक्रिया सुरु भएको धेरै लामो समय भइसकेको छ, लीको कानुनी टोलीले भनेको छ।
हामी आशा गरेका छौँ कि यस फैसलासँगै प्रतिवादीहरू अब आफ्नो उचित कर्तव्य र जिम्मेवारीमा फर्कन सक्नेछन् । सन् २०१७ मा पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई पदच्युत गर्ने व्यापक अनुसन्धानपछि लीलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो ।
दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसुङ समूहको हार (गहना) मानिने सामसुङ इलेक्ट्रोनिक्सका वर्तमान कार्यकारी अध्यक्षलाई सन् २०२१ को अगष्टमा पेरोलमा रिहा गरिएको थियो । दक्षिण कोरियाका तत्कालीन राष्ट्रपतिले उनलाई आममाफी दिएको दुई महिनापछि सन् २०२२ को अक्टोबरमा उहाँ औपचारिक रूपमा कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।
प्रतिक्रिया