जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत

काठमाडौं । शून्य उत्सर्जन सवारी साधन मात्र बेच्ने यो बर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कार विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ ।
नर्वेली सार्वजनिक सडक प्रशासन (ओएफभी) का अनुसार गत महिना दर्ता भएका नयाँ कारमध्ये ९५.८ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको छ ।
रिचार्जेबल हाइब्रिड मोडलसहित विद्युतीय कारको हिस्सा ९६.८ प्रतिशतले बढेको छ ।
‘नर्वेले जनवरीमा कूल नौ हजार ३४३ नयाँ कार बिक्री गरेकोमा आठ हजार ९५४ वटा विद्युतीय सवारी साधन थिए,” ओएफभीले जानकारी दिएको छ ।
ओएफभीका निर्देशक ओयविन्ड सोलबर्ग थोरसेनले भने, ‘हामीले योभन्दा पहिले कहिल्यै विद्युतीय कारले यति धेरै हिस्सा ओगटेको जानेनौँ । यदि बाँकी वर्ष यस्तै रह्यो भने हामी चाँडै नै २०२५ को लक्ष्यको नजिक पुग्नेछौं ।’
‘हामी विद्युतीय कारहरूलाई नै शत प्रतिशत हिस्सा ओगटेको देख्न चाहन्छौँ । लक्ष्यमा पुग्नका लागि अन्य मोडेलहरू भन्दा विद्युतीय कार छनौट गर्न लाभदायक बनाउने प्रोत्साहनहरू ल्याउन आवश्यक हुनेछ,’ उनले थपे ।
सबैभन्दा धेरै बिक्री भएका ५० मोडलमध्ये दुई वटा मात्र गैर-विद्युतीय थिए र त्यो पनि पहिलो ३३ औं स्थानमा आएको थियो ।
नर्वेमा, विद्युतीय कारहरू धेरै करहरूबाट मुक्त छन् र यसले तिनीहरूलाई भारी कर लगाइएको आन्तरिक इन्धन दहन कारविरुद्ध प्रतिस्पर्धी बनाउँछ।
उनीहरूले सडक कर छुट, सार्वजनिक कार पार्कमा नि:शुल्क पार्किङ र सार्वजनिक यातायात ट्राफिक लेनको प्रयोगबाट पनि लाभ उठाएका छन् ।
विद्युतीय कारको विक्री उच्च भएसँगै सामान्य कारमा दिइएका केही कर छुट र प्रोत्साहन वर्षौँदेखि फिर्ता लिइएको छ ।
ओएफभीका अनुसार जनवरीमा नर्वेमा दर्ता भएका नयाँ कारमध्ये डिजेल कारको हिस्सा १.५ प्रतिशत र पेट्रोल कारको हिस्सा ०.४ प्रतिशत मात्र थियो ।
प्रतिक्रिया