सोमबार, वैशाख ८, २०८२

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नेपालखोज २०८१ माघ २२ गते १६:५०

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका–३ आवर चोकस्थित सडकमा ज.८ प २९०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–२ बस्ने २१ वर्षीय प्रवेश मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगर मोरङमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ चुनदेबी चोकमा बा.४ ख १७० नम्बरको गाडी र बा.प्र.०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका–९ बस्ने ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको बिएण्डबि अस्पताल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ४ सय २९ किलो ग्राम गाँजा बरामद

सुनसरी । धरान उपमहानगरपालिका–६ पानमारा जंगलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय १० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा.१५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

यसैगरी सुनसरी, हरिनगर गाउँपालिका–६ स्थित बाँसबारीबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सोमबार बेलुकी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखेको सुट केसबाट उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया