राष्ट्रपति रनिङ शिल्डमा आकर्षण प्रतियोगिताको आकर्षण ‘सिलाम साक्मा’

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवका रूपमा आयोजना गरिएको छ । खेलकुद महोत्सवको प्रमुख आकर्षण भने ‘सिलाम साक्मा’ बनेको छ ।
आइतबारदेखि सुरू भएको खेलकुद महोत्सव बुधबारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । लिम्बू संस्कृतिमा आधारित ‘सिलाम साक्मा’ को प्रवर्द्धन तथा प्रचार गर्ने उद्देश्यले ५४ फिट अग्लो सिलाम साक्माको प्रतिमा ९मस्कट० निर्माण गरिएको छ । सिलाम साक्माको दायाँ–बायाँ ठूला अक्षरमा ‘सिलाम साक्मा हाम्रो सभ्यता हो’ लेखिएको छ ।
धेरैले सिलाम साक्मा देखेको हुन सक्छन्, तर यति अग्लो र ठूलो सिलाम साक्मा पहिलो पटक देख्नेहरूका लागि विशेष आकर्षण भएको छ । यहाँ पुग्ने जो कोही पनि यसको अगाडि तस्बिर खिच्न तथा टिकटक भिडियो बनाउन उत्साहित देखिन्छन् । हाल सामाजिक सञ्जालहरूमा समेत सिलाम साक्माले व्यापक चर्चा पाएको छ ।
बाँस र धागो प्रयोग गरेर वर्गाकार आकारमा निर्मित सिलाम साक्माको उचाइ र चौडाइ ५४ फिट रहेको छ । विभिन्न आकारका सिलाम साक्मा प्रदर्शन तथा प्रचारका लागि राखिएको छ । भाटा प्रयोग गरी करिब एक हजार ५०० किलोग्राम तौलको सिलाम साक्मा निर्माण गरेर प्रवेशद्वार ९गेट० बनाइएको हो ।
प्रतियोगितामा सहभागी विद्यार्थी, खेलाडी तथा शिक्षकलाई सिलाम साक्माको महत्त्व बुझाउन यो प्रतिमा निर्माण गरिएको निर्देशक छेटु लामा तामाङले बताए ।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले सिलाम साक्माले सांस्कृतिक पहिचान प्रवर्द्धनमा टेवा पुर्याएको बताए । सिलाम साक्माको प्रचारप्रसारका लागि नै यसको प्रतिमा निर्माण गरिएको उहाँको भनाइ छ ।
सिलाम साक्माको प्रयोगले मौलिक पहिचान प्रवर्द्धनसँगै पर्यटन विकासमा समेत योगदान पुगेको छ । लिम्बू समुदायका धार्मिक कर्मकाण्डमा फेदाङ्मा, येबा, साम्बा, बिजुवाहरूले बाँसको सिन्का र धागो प्रयोग गरी सिलाम साक्मा निर्माण गर्ने परम्परा छ ।
लिम्बू मुन्धुमअनुसार, सिलाम साक्माले दिवङ्गत आत्माको बाटो छेक्ने विश्वास गरिन्छ । साथै, जीवित व्यक्तिको दिनचर्या सुखमय बनाउने, स्वास्थ्य, स्फूर्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने जनविश्वास रहेको छ । रासस
प्रतिक्रिया