आइतबार, वैशाख ७, २०८२

राष्ट्र बैंकले भन्यो- आफूसँग भएको डेनिस क्रोनर बैंक नोट सटही गर्नुहोस, नगरे नचल्ने

नेपालखोज २०८१ फागुन ५ गते १८:१०

काटमाडौं । नेपाल बैंकले डेनिस क्रोनर बैंक नोट सटही गर्न आव्हान गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले आफूसँग भएको यस्तो नोट सटही गर्न र तोकिएको समयमा सटही नगरे साट्न बाध्य नहुने जानकारी दिएको छ । 

सूचनामार्फत राष्ट्र बैंकले भनेको छ, डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात् कानुनी ग्राह्यता खारेज गरेका डेनिस क्रोनर (डिकेके) बैंक नोट आफूसँग भएमा त्यस्ता नोट २०८१ फागुन मसान्त (सन् २०२५ मार्च १३) भित्र प्रचलित व्यवस्था बमोजिम यस बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने यस बैंकका प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न यस बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्था, वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्न इजाजत पत्र प्राप्त मनिचेञ्जरबाट सटही गर्नु/गराउनु हुन सम्बन्धित सबैका लागि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ । 

२०८१ फागुन मसान्त (सन् २०२५ मार्च १३) पश्चात् त्यस्ता बैंक नोट सटही गर्न यस बैंक लगायत इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेञ्जर र विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त निकाय बाध्य नहुने ब्यहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

कानुनी ग्राह्यता खारेज गरिएका बैंक नोटसम्बन्धी विस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको छ । राष्ट्र बैंकले भनेको छ ।   

प्रतिक्रिया