‘मधेशभन्दा कर्णालीमा राजनीतिक संस्कार राम्रो छ, विभेद भोग्नुपरेको छैन’

सुर्खेत । मधेशी समुदायको पहाडियाप्रति सधैँ एउटा गुनासो रहन्छ, हामीलाई देशी भनेर हेपिन्छ, इन्डियन (भारतीय) को बिल्ला भिराइन्छ । लामो समयदेखि कर्णाली प्रदेशलाई कर्मभूमि बनाएका मधेशी समुदायका प्रतिनिधिले भने कर्णालीमा त्यस्तो विभेद भोग्नुनपरेकामा गर्व गरेका छन् ।
तराई मधेशका विभिन्न जिल्लाबाट कर्णालीमा विशेष गरी शिक्षण र व्यापार व्यवसायका सिलसिलामा यहाँ आइपुगेका उनीहरूलाई एकै थलोमा जुराएको हो, कर्णाली उत्सव, कुडा कर्णालीले ।
मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक इन्जिनियर हरिनारायण यादवले सहजीकरण गरेको कर्णालीमा मधेश नामक सत्रमा सहप्राध्यापक डा विनयकुमार दास, प्रधानाध्यापक श्रवणकुमार शर्मा र नेपाल नाइँ सङ्घ सुर्खेतका अध्यक्ष अर्जुन ठाकुरले मधेसबाट आएर कर्णालीमा बस्दाका अनुभव सुनाए । तर ती अनुभव तिता थिएनन् ।
२०४७ सालदेखि वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा प्राध्यापनका लागि सुर्खेत आइपुगेका सहप्राध्यापक विनयकुमार दासले मधेशमा भन्दा कर्णालीमा राजनीतिक कल्चर राम्रो रहेको बताए ।
‘जुनसुकै पार्टीको भए पनि मेलमिलाप, आपसी समन्वय राम्रो छ, म आएको बेला भर्खर बहुदल आएको थियो, उनले भने, ‘त्यतिखेरदेखि हेर्दै आएको छु, यहाँ राजनीतिक दलहरूले मिलेर काम गरेको देख्छु, तर मधेशमा त्यस्तो देख्दिनँ ।’
मधेशको राजर्षि जनक विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय एकै दिन स्थापना भए पनि राजर्षि जनकभन्दा मध्यपश्चिमले राम्रो प्रगति गरेको टिप्पणी गरे । मधेशमा राजनीतिक संस्कार र राजनीतिक प्रणाली राम्रो नहुँदा त्यहाँका सार्वजनिक संस्थाले प्रगति गर्न नसकेको उनको भनाई थियो ।
‘कर्णालीको हावापानी राम्रो छ, न ज्यादा गर्मी न चिसो, मानिसहरू पनि मानिसहरू पाएँ, हामीलाई मधेशी विभेद छैन, दासले भने, ‘अलि मधेसको भन्दा कर्णालीका विद्यार्थीहरू कम अध्ययन गर्ने पाएँ, पढाइलाई त्यति महत्वको दिएको पाइनँ ।’
सुर्खेतको बराहतालस्थित नेपाल राष्ट्रिय प्रावि स्याउलेका प्रधानाध्यापक श्रवणकुमार शर्माले कर्णालीमा शिक्षक, कर्मचारीलाई काम गर्ने राम्रो वातावरण रहेको बताए । २०७२ साल मङ्सिर देखी सुर्खेत कार्यक्षेत्र बनाएका सप्तरीका उनले आफूलाई कर्णाली छाडेर मधेश जान मन नलागेको बताए ।
‘मलाई सुर्खेत भन्दा त बराह ताल छाड्न मन लाग्दैन, धेरैले माया गर्नुहुन्छ, मैले विभेद कहिल्यै खेपिन, उनले भने ।
वीरेन्द्रनगरमा २०४६ सालदेखि हजाम व्यवसाय सञ्चालन गर्दै आएका महोत्तरीका अर्जुन ठाकुरले आफूले मधेशी समुदायका रुपमा कुनै प्रकारको विभेद भोग्नुपरेको बताए । हामीलाई कुनै विभेद छैन, यहाँका मानिस असाध्यै मिलनसार, सहयोगी पाएको छु, उनले भने, कर्णालीवासीको अगाध मायाकै कारण मधेश जान मन लाग्दैन ।
प्रतिक्रिया