अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–५ मधुमारबाट अवैध लागूऔषध गाँजा ४ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय मोहमद कलिम समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले कलिमको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित बैतडी पाटन नगरपालिका–६ बस्ने २८ वर्षीय कमल भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाराको कोल्हवी नगरपालिका–६ प्रसौनाबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ५१ ग्राम सहित सोही ठाउँ बस्ने बच्चा बाबु चौधरी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिहोर्वाबाट खटिएको प्रहरीले बच्चा बाबुको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
दाङको लमही नगरपालिका–५ रातोडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने घोराही उपमहानगरपालिका–१७ घर भएका २७ वर्षीय सुशिल घर्तीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिन्धुलीको मरिण गाउँपालिका–७ देउजोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५४ ट्याब्लेट सहित २ जनालाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमलामाई नगरपालिका–२ बस्ने २३ वर्षीय राम बहादुर डिमदोङ र २२ वर्षीय साजन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले प्रदेश ३–०२–००६ प ३०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
रूपन्देहीको सम्मरीमाई गाउँपालिका–२ बनगाईस्थित सडकमा करौताबाट बनगाईतर्फ जाँदै गरेको युपि ५५ क्यु ८४३२ नम्बरको मोटरसाइकल बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–१ करौता बस्ने ५५ वर्षीया ज्ञानमती चमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत ३ जनाको भीम अस्पताल भैरहवा र मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
यसैगरी रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारस्थित सडकमा महिलवारबाट पडरियातर्फ जाँदै गरेको लु.४३ प ५७३५ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषाको मिथिला नगरपालिका–६ स्थित सडकमा प्रदेश २–०२–००३ प ६९०५ नम्बरको मोटरसाइकल ज.१ त २२३१ नम्बरको ट्याक्टरमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी घर भएका २८ वर्षीय सुरज कुमार झा को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्थित सडकमा बाह्रबिसेबाट आपुङ्गतर्फ जाँदै गरेको भे.२ त १९२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक चैनपुर नगरपालिका–६ बस्ने १९ वर्षीय रबि बराईलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगि टोलस्थित सडकमा बाग्मती प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा बसमा सवार बारा घर भएका ७० वर्षीय सिताराम धामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २ जनाको जिल्ला अस्पताल र ३ जनाको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । बस चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया