बिहीबार, वैशाख ११, २०८२

‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय माताहतका संस्थालाई सबल बनाउनुपर्छ’

नेपालखोज २०८१ फागुन १० गते १९:५५

पाटन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफ्नो मन्त्रालय मातहतमा रहेका पाँच वटै साझा संस्थालाई सबल बनाउँदै लैजानुपर्ने बताएका छन् ।

आज यहाँ आयोजित साझा प्रकाशनको २५औँ साधारणसभामा मन्त्री अधिकारीले आफ्नो मन्त्रालयअन्तर्गत साझा भण्डार, साझा यातायात, साझा सहकारी, साझा स्वास्थ्य र साझा प्रकाशन रहेका जनाउँदै व्यवस्थापन पक्ष सक्षम नहुँदा लामो समयदेखि सबै संस्थामा घाटामा रहेका बताए । उनले आर्थिक गतिविधि चलायमान नहुँदा घाटामा गएका पाँचवटै संस्थालाई सबल बनाउन समस्या पहिचान गरी समाधानका विकल्प खोजी गरिने उल्लेख गरे ।

‘साहित्य र संस्कृतिको विकास तथा संरक्षणका क्षेत्रमा काम गर्न अग्रजहरूले सुरुआत गर्नुभएका सकारात्मक विषयलाई निरन्तरता दिनुपर्छ । सधैँ सरकारसँग आश्रित भइरहँदा संस्था सबल हुन सक्दैन’, मन्त्री अधिकारीले भने, ‘साझा प्रकाशन नेपाली जनताले विश्वास गरेको भरपर्दो संस्था थियो । यो विषय अहिले इतिहासमा मात्रै सीमित छ, यसलाई वर्तमान अवस्थाबाट उकास्न नयाँ नेतृत्वले विशेष योजनासहित समस्या समाधानमा ध्यान दिनुपर्छ ।’

उनले भाषा–साहित्य, वाङ्मय र शिक्षाको विकास गर्ने सरकारको नीतिअनुरुप विसं १९७० मा गोरखा भाषा प्रकाशिनी समितिका नाममा स्थापित भई विकास हुँदै २०२१ सालमा स्थापित साझा प्रकाशनलाई सक्षम र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया