बिहीबार, वैशाख ११, २०८२

‘भौतिक संरचना निर्माणलाई तीव्र बनाइएको छ’

नेपालखोज २०८१ फागुन १६ गते १९:५१

नुवाकोट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा पूर्वाधार विकास र भौतिक संरचना निर्माणलाई तीव्र बनाउँदै लगिएको बताएका छन् ।

विदुर नगरपालिका-४ र विदुर-१२ जोड्न सिमचउरामा निर्मित एक सय मिटर लम्बाइको पक्की पुल र विदुर-१ स्थित त्रिशूली बजारमा निर्मित ६० मिटर लम्बाइको पक्की पुलको आज यहाँ आयोजित एक कार्यक्रमका बीच उद्घाटन गर्दै उनले सरकारलेजनता केन्द्रित पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

वर्तमान सरकार गठन भएपछि लक्ष्यभन्दा बढी सडक विस्तार र पक्की पुल निर्माण गरिएको बताउँदै मन्त्री दाहालले यो गतिलाई अझै तीव्रता दिन सरकारले अधुरा योजना कार्यान्वयनको पक्षमा काम गरिरहेको उल्लेख गरे । उनले भुपरिवेष्टित मुलुक नेपालसँग सीमा जोडिएका देशसँग पहुँच विस्तार गर्न चारै दिशामा नाका सञ्चालन गराउने लक्ष्यसहित भौतिक पूर्वाधार विकास र संरचना निर्माणलाई तीव्रता दिइएको उल्लेख गरे ।

‘मन्त्रालयले छ महिनामा दुई सय २५ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएकामा दुई सय ७६ किमी सम्पन्न भइसकेको छ । सैतीस वटा पक्की पुल निर्माण गर्ने लक्ष्यमा ४१ वटा सम्पन्न भएर गाडी गुड्न थालिसकेका छन्’, उनले भने, ‘भौतिक संरचनाको निर्माण र यसको प्रगति काम सम्पन्न नभई देखिँदैन, वर्तमान सरकारले पूर्वाधार विकासका क्षेत्रमा उल्लेख्य काम गरिरहेको छ । नतिजा पनि सोहीअनुसार आइरहेका छन् ।’

मन्त्री दाहालले सरकारले जनताको समृद्धिसँग विकासलाई जोडेर काम गरिरहेकाले भइरहेका कामकारबाहीलाई विश्वास गरी सहयोग र समन्वय गर्न सबैलाई आग्रह गरे । त्रिशूली नदीमा निर्माण गरिएको दुई पक्की पुलको उद्घाटन गर्दै उनले जनताको चाहना र सरकारको सामथ्र्यअनुसार भौतिक संरचना निर्माणमा सरकारले प्राथमिकता दिएको उल्लेख गरे ।

प्रतिक्रिया