बौद्ध सर्किट प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’

रूपन्देही । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध सर्किटको प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट दुईदिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरू गरिएको छ । साइकल सिटीको आयोजनामा सुरू भएको यो यात्रा दोस्रो संस्करण हो ।
११५ जना साइकल चालकसहित भैरहवाको बुद्धचोकबाट सुरू भएको यो यात्रा पहिलो दिन शुक्रबार रोहिणी नदी हुँदै नवलपरासीको रामग्राम, पण्डितपुर, रूपन्देहीको भवानीपुर, जितगढी किल्ला हुदै पुनः भैरहवा आइपुग्ने छ । दोस्रो दिन शनिबार भैरहवाबाट नै यात्रा सुरू गरी टिकुलीगढ, शुद्धोधन हुँदै कपिलवस्तुको जितपुरबाट जगदीशपुर ताल, तिलौराकोट, गोटिहवा, कुदान, तौलिहवा हुदै लुम्बिनी पुगि समापन हुनेछ ।
साइकलयात्रामा विश्व साइकलयात्री पुष्कर शाहसँगै भारत र बेल्जियमका साइकल चालकसँगै नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साइकलयात्री सहभागी रहेको भैरहवास्थित साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारूमगरले जानकारी दिए । यात्रामा भारत देहरादूनका बृद्ध साइक्लिष्ट दम्पतीसमेत सहभागी भएको उनले बताए । सहभागीमध्ये देहरादूनका ७५ वर्षीय कमलजित धिमान र ७२ वर्षीय विष्हु धिमान दम्पती हुनुहुन्छ । यसबाहेक यात्रामा आठ वर्षीय क्रिष्टोफर श्रेष्ठ, १२ वर्षीय अस्विनी खरेल पनि सहभागी छन् ।
बहत्तर वर्षीय साइकलयात्राी विष्हु धिमानले आफू दोस्रोपटक भैरहवाबाट सुरू हुने यो यात्रामा सहभागी भएको बताए ।
गत वर्ष राम्रो अनुभव भएको कारण यस वर्ष देहरादूनका अन्य साइकलयात्रीसँगै सहभागी भएको उनको भनाइ छ । यात्राले बौद्ध सर्किटसँग जोडिएका क्षेत्रमात्र नभए प्रचारमा आउन नसकेका रोहिणी खोला, पाकडी वृक्ष, जितगढी किल्लालगायत अन्य बौद्धकालीन सम्पदाको प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ ।
यात्रामा सहभागी विश्व साइकलयात्री पुष्कर शाहले यो साइललयात्राले बौद्धकालीन समयमा रहेका बुद्धका जन्म, मावली ससुरालीलगायत बुद्ध हिँडनु भएको पाइलापछ्याउँदै साइकलयात्री पनि हिँडने बताए ।
भैरहवाको बुद्धचोकबाट सुरू भएको बुद्ध ज्ञान साइकल यात्रालाई उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कृष्णकुमार शर्मा, सिद्धार्थ उद्योग वबणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले ‘फ्ल्याग अफ’ गरि सुरू गरे ।
प्रतिक्रिया