मंगलबार, वैशाख ९, २०८२

रोल्पाका सवै कोरोना संक्रमित निको भए

नेपालखोज २०७७ भदौ १७ गते १३:२२

रोल्पा । देशैभर कोरोना सङ्क्रमित बढिरहेका बेला रोल्पामा भने सङ्क्रमितको संख्या शून्य भएको छ ।
अस्थायी आइसोलेशन केन्द्रमा बस्दै आएका तीन जना घर फर्किएसँगै जिल्लामा सङ्क्रमित संख्या शून्य भएको हो । जिल्लामा हालसम्म देखापरेका सङ्क्रमित ८३ मध्ये ७८ जना कोरोना जितेर आइसोलेशनबाट फिर्ता भइसकेका छन् ।

सङ्क्रमितमध्येका पाँच सङ्क्रमित अन्य जिल्लाका रहेकाले हाल जिल्ला जनस्वास्थ्यको सम्पर्कमै नरहेको जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका प्रमुख अनिल केसीले बताए । उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिए पनि अझैसम्म जिल्लाको आइसोलेसनमा नआइपुगेकाले जिल्लामा कोरोना सङ्क्रमितको संख्या शून्य देखिएको हो । क्वारेन्टाइन अवस्थामा आत्महत्या गरेका एक जनाको रिपोर्ट पोजेटिभ देखिएका कारण जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ देखिएको छ । जिल्लाभित्र कोरोना पोजेटिभ नभए पनि जिल्ला बाहिर रहेका रोल्पाली कोरोना सङ्क्रमित हुनसक्ने भएकाले कोरोनामुक्त चाहिँ भन्न नमिल्ने प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए ।

“स्वाब परीक्षणका लागि केही नमूना पठाइएको हँुदा त्यसको पोजेटिभ रिपोर्ट आउनसक्ने सम्भावनालाई नकार्न सकिँदैन”, प्रजिअ रानाले भने । कोरोना सक्रिय सङ्क्रमितका लागि जिल्लामा ७८ श्ययाको आइसोलेशन केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको छ । जलजला बहुमुखी क्याम्पसमा रहेको सो आइसोलेशन सञ्चालनका लागि जिल्लाका दशवटै स्थानीय तह र प्रदेश सरकारका साथै सर्वसाधारणले समेत आर्थिक भौतिक सहयोग गरेका छन् ।

जिल्ला कोराना शून्य रहे पनि सरकारको निर्देशन नहुँदासम्म आइसोलेशन केन्द्र कायमै रहने स्थानीय प्रशासनको भनाइ छ । भारत तथा अन्य मुलुकका साथै देशको विभिन्न जिल्लाबाट समेत रोल्पा आवतजावत भइरहेको हँुदा कोरोना सङ्क्रमित देखिन सक्ने सम्भावना रहिरहने छ । गत जेठ १ गतेदेखि हालसम्म भारतबाट २ हजार ३७९ र तेस्रो मुलुकबाट २६१ जना रोल्पा भित्रिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यसरी भित्रनेमध्ये सबैभन्दा धेरै सुनील स्मृति गाउँपालिकामा ७४७ जना भारतबाट र पाँच जना तेस्रो मुलुकबाट छन् भने सबभन्दा कम थवाङ गाउँपालिकामा भारतबाट २० र तेस्रो मुलुकबाट २४ जना रहेका छन् ।

जिल्लामा हालसम्म २ हजार ४८१ जनाको स्वाब संकलन गरिएकामा २ हजार ४०८ जनाको स्वाब परीक्षण गरिएको छ । हाल जिल्लाका विभिन्न स्थानमा ९७ श्य्यासहितको २२ स्थानमा क्वारेन्टाइन छन् ।

प्रतिक्रिया