‘हामी एक्लो छैनौँ’ : सङ्कट शिखर सम्मेलनमा युरोपलाई धन्यवाद दिँदै जेलेन्स्की

ब्रसेल्स । युरोपेली सङ्घ (इयु)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको किएभ र उनका ट्रान्सअटलान्टिक साझेदारहरूबाट टाढा हुने निर्णयको सामना गर्न सङ्कट वार्ता सुरु गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार युरोपेली सङ्घ ९इयु० का नेताहरूलाई युक्रेनको साथमा उभिएकामा धन्यवाद दिएका छन् ।
बिहीबारको शिखर सम्मेलनमा इयुका सबै २७ सदस्य राष्ट्रका नेताहरू गत हप्ता ट्रम्प र जेलेन्स्कीबीच भएको विस्फोटक बैठकपछि पहिलो पटक एकसाथ आएका छन् ।
त्यसयता वासिङ्टनले सैन्य सहायता र खुफिया जानकारी साझेदारी निलम्बन गरेको छ । अमेरिकी सैन्य सहायता र खुफिया जानकारीले किएभलाई रुसको आक्रमणको सामना गर्न मद्दत गरेको थियो ।
‘हामी धेरै आभारी छौँ कि हामी एक्लै छैनौँ । र यी केवल शब्दहरू मात्र होइनन्’, इयुका प्रमुखहरू उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाको साथमा उभिँदै युक्रेनी राष्ट्रपतिले वार्ता सुरु हुँदा पत्रकारहरूलाई भने ।
युरोपको सुरक्षाका लागि अमेरिकाको दीर्घकालीन प्रतिबद्धता अहिले शङ्कामा परेको छ र इयु यस क्षणको सामना गर्न दबाबमा छ । यसै हप्ता जर्मनीका सम्भावित अर्का नेताले रक्षामा ऐतिहासिक यु–टर्नको प्रतिज्ञा गरेका छन् ।
नेताहरूले बिहीबार आयोगको रक्षा योजनाहरूलाई स्वीकृति दिने अपेक्षा गरिएको छ । यो मुख्य रूपमा राज्यहरूलाई धेरै खर्च गर्न स्वतन्त्र बनाउनेमा आधारित छ जुन इयुका दुई आर्थिक शक्तिशाली देशले गर्ने सम्भावना रहेको छ ।
शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक गम्भीर राष्ट्रिय सम्बोधनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘नयाँ युग’ को सामना गर्न रक्षा खर्चमा वृद्धि गर्न आह्वान गरे र फ्रान्सको आणविक प्रतिरोध युरोपेली साझेदारहरूमा विस्तार गर्नेबारे छलफल गर्ने बताए ।
वार्ताअघि ब्रसेल्समा इयु प्रमुखहरूसँग छलफल गर्नुभएका जर्मनीका चान्सलर–इन–वेटिङ फ्रेडरिक मेर्जले आफूलाई ‘सबैभन्दा खराब परिस्थिति’ का लागि तयार रहेको घोषणा गर्नुभएको छ र जर्मन रक्षा खर्च बढाउन आमूल सुधारहरू अँगालेका छन् । रासस/एएफपी
प्रतिक्रिया