नियमितभन्दा फरक चलचित्र ‘आउट ल: दफा २१९’

काठमाडौं । नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन् । सामाजिक विषय र हास्यप्रधान प्रस्तुतीकरण रहका चलचित्रले दर्शकको साथ पनि राम्रै पाइरहेका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ चलचित्रका शृङ्खलाको व्यापार हेर्दा नेपालमा हास्यप्रधान चलचित्रमा दर्शक आकर्षित रहेको बुझ्न सकिन्छ ।
फरक विषय वा प्रस्तुतीकरण भएका चलचित्र निर्माण गर्नु चलचित्रकर्मीको दायित्व रहेको निर्देशक बिक्की महर्जनको बुझाइ छ । यही महसुस गरेर उनले दुई वर्षअघि पहिलो चलचित्र निर्देशन गर्ने सोच बनाउँदा द्वन्द्व विधालाई रोजे । उनले निर्देशन गरेका चलचित्र ‘आउट लः दफा २१९’ द्वन्द्व विधामा तयार गरिएको छ ।
‘हामीले बनिरहेका चलचित्रभन्दा फरक गर्ने कोसिस गर्दै जोखिम मोलेर पनि द्वन्द्व विधामा चलचित्र तयार गरेका छौँ । यस चलचित्रको प्रस्तुतीकरणको शैली बनिरहेकाभन्दा फरक छभने हामीले दफा २१९ को विषयलाई उठाएका छौँ । महिला हिंसा र बलत्कारका विषय चलचित्रमा समेटेका छौँ’, निर्देशक महर्जनले भने ।
उनले चलचित्रलाई बिनासम्झौता तयार गर्न दुई वर्ष समय लागेको जानकारी दिए । अन्य विधाको तुलनामा द्वन्द्व विधामा निर्माण गरिने चलचित्रमा जोखिम हुनाका साथै लगानी बढी लाग्ने अभिनेता सुशील श्रेष्ठको भनाइ छ । पहिलोपटक द्वन्द्वप्रधान चलचित्रमा काम गरेका अभिनेता श्रेष्ठले चलचित्रको काम सुरु हुँदादेखि प्रदर्शनसम्म दुई वर्ष समय दिएको बताए ।
विदेशी चलचित्रमा कलाकारझैँ देखिने जोखिमका दृश्य ‘बडी डबल’ भए पनि नेपालमा भने अभिनेताले नै सबै दृश्यमा आफैँले छायाङ्कन गर्नुपर्छ । द्वन्द्वका दृश्यको छायाङ्कन गर्दा अभिनेता श्रेष्ठको हातको औँला भाँचिनेदेखि चोटपटक लागेको थियो । प्रायः प्रेमकथानक चलचित्रमा देखिरहेका अभिनेता श्रेष्ठका लागि यसपटक फरक विधाको चलचित्रमा काम गर्नु चुनौतीसँगै अवसर पनि थियो ।
चलचित्रका निर्देशक महर्जनले चलचित्र छायाङ्कनसँगै त्यसपछि गरिने प्राविधिक कार्यका लागि समय लागेको बताए ।
उनका अनुसार विदेशी चलचित्रमा देखिने द्वन्द्वका दृश्यझैँ ‘आउट लः दफा २१९’ का दृश्यलाई तयार गरिएको छ । यही फागुन २९ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रलाई अमित अग्रहरी र निशा गुइडेले निर्माण गरेका हुन् । निर्देशक महर्जन र दीर्घ धामीले संयुक्त रूपमा पटकथा तयार गरेको चलचित्रमा नवीन गुरुङले छायाङ्कन र साहिल खानले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया