सोमबार, वैशाख ८, २०८२

ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने

नेपालखोज २०८१ चैत ३ गते १२:२४

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको बताएका छन् ।

अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि वासिङ्टनले तीन वर्षे युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका थिए ।

मलाई लाग्छ कि हामी युक्रेनी भूमि, विद्युत् गृहको बारेमा कुरा गर्नेछौँ,ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँगको कुराकानीमा भने । मलाई लाग्छ, युक्रेन र रूस दुवै पक्षबीच यस विषयमा धेरै छलफल भइसकेको छ। हामी पहिलो पटक यसको बारेमा कुरा गर्दैछौँ र केहि जमिनहरूमाथिको दावीबारे टुङ्गो लगाउने बिषयमा छलफल गर्दैछौँ ।

वासिङ्टन र किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन् तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिएका छैन । बरु शर्तहरूको एक शृङ्खला सूचीबद्ध गर्दै अमेरिकी प्रस्तावमाथि ‘गम्भीर प्रश्नहरू’ उठाएका छन् ।

केही दिनअघि पुटिनसँग केही घण्टा भेटवार्ता गरेका ट्रम्पका दूत स्टिभ विटकोफले सीएनएनसँगको कुराकानीमा भनेका छन्, दुई राष्ट्रपतिबीच यो साता निकै राम्रो र सकारात्मक छलफल हुनेछ ।

उनले भने, सायद, ट्रम्पले वास्तवमै आगामी हप्ताहरूमा कुनै न कुनै प्रकारको सम्झौता हुने अपेक्षा गरेका छन् र यो आवश्यक मुद्दा हो भन्ने मेरो पनि विश्वास हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका समय ट्रम्प र पुटिनबीच वार्ता हुनेछ । कुनै पनि युद्धविराममा सहमत हुनुअघि मस्कोले पहिले ‘युद्धभूमिमा आफ्नो स्थिति सुधार्न’ चाहेको जेलेन्स्कीले बताएका छन् ।

प्रतिक्रिया