रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबीच आश्चर्यजनक युद्धविराम वार्ता

दोहा । अङ्गोलामा शान्ति वार्ता असफल भएको केही घण्टापछि रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)) का राष्ट्रपतिहरूले कतारमा आश्चर्यजनक वार्ता गरेपछि युद्धविरामका लागि आफ्नो समर्थन व्यक्त गरेका छन् । रुवान्डाका राष्ट्रपति पल कागामे र डिआरसीका राष्ट्रपति फेलिक्स त्सेसेकेदीले मङ्गलबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गरेका थिए ।
रुवान्डा समर्थित एम२३ सशस्त्र समूहले यस वर्षको सुरुमा डिआरसीको खनिजले समृद्ध पूर्वी क्षेत्रमा आक्रमण गरी दुई प्रमुख सहर कब्जा गरेको थियो । राज्य प्रमुखहरूले गत महिना अफ्रिकी शिखर सम्मेलनमा सहमति गरिएअनुसार तत्काल र बिना शर्त युद्धविरामका लागि सबै पक्षको प्रतिबद्धता दोहोर्याए, विज्ञप्तिमा भनिएको छ, फलदायी बैठकले… प्रजातान्त्रिक गणतन्त्र कङ्गो र यस क्षेत्रको सुरक्षित र स्थिर भविष्यप्रति साझा प्रतिबद्धतामा विश्वास निर्माण गर्न मद्दत गर्यो ।
मङ्गलबार राति रुवान्डाको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यले बैठक भएको पुष्टि गर्दै नेताहरूले ‘पूर्वी डिआरसीमा द्वन्द्वका मूल कारणहरू’ सम्बोधन गर्न सबै पक्षसँग ‘प्रत्यक्ष राजनीतिक संवाद’ को तत्काल आवश्यकताबारे छलफल गरेको बताएको छ । राष्ट्रपति कागामेले सबै पक्ष मिलेर काम गर्दा सबै कुरा छिटो अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरे, विज्ञप्तिमा भनिएको छ । डिआरसीले पनि बैठकको पुष्टि गरेको छ । कङ्गोको राष्ट्रपति कार्यालय नजिकको स्रोतका अनुसार त्सिसेकेडी किन्शासा फर्कने विमानमा चढ्दासम्म यो बैठक ‘गोप्य’ राखिएको थियो ।
डिआरसी र रुवान्डाबीच तत्काल र बिना शर्त युद्धविराम सहमति भएको छ, राष्ट्रपति कार्यालयले पछि बैठकको पुष्टि गर्दै प्रवक्ता टिना सलामाले एक्समा पोस्ट गरेका छन् । जे सहमति भएको छ त्यसको कार्यान्वयन विवरणहरू आउने दिनहरूमा तयार गरिनेछ”, कङ्गोली राष्ट्रपति कार्यालयको सञ्चार एकाइले पछि भनेको छ । यसअघि मङ्गलबार अङ्गोलाले एम२३ समूहले अन्तिम समयमा फिर्ता लिएपछि शान्ति वार्ता रद्द भएको बताएको थियो ।
समूहले सोमबार विशेष गरी युरोपेली सङ्घ (इयु) ले लगाएको प्रतिबन्धलाई उल्लेख गर्दै ‘केही अन्तर्राष्ट्रिय संस्था’ लाई ‘जानाजानी शान्ति प्रयासहरूलाई तोडफोड’ गरेको आरोप लगाएको थियो । “लुआन्डामा छलफलको पूर्वसन्ध्यामा अपनाइएका प्रतिबन्धहरूसहित हाम्रा सदस्यहरूमाथि लगातार लगाइएको प्रतिबन्धहरूले प्रत्यक्ष संवादलाई गम्भीर रूपमा सम्झौता गर्दछ र कुनै पनि प्रगतिलाई रोक्छ, समूहले भन्यो ।
समूहले किन्सासाको ‘युद्ध अभियान’ को पनि निन्दा गर्दै भनेको छ, यी अवस्थाहरूमा वार्ता गर्न असम्भव भएको छ । परिणामस्वरूप हाम्रो सङ्गठन छलफलमा भाग लिन सक्षम हुनेछैन । इयुले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा सशस्त्र लडाकुहरू र यसका प्रमुख बट्र्रान्ड बिसिम्वासहित एम२३ का वरिष्ठ सदस्यहरूलाई समर्थन गरेकोमा तीन रुवान्डाली सैन्य कमान्डर र यसको खनन एजेन्सी प्रमुखलाई प्रतिबन्ध लगाएको छ ।
जनवरीदेखि कङ्गोली तुत्सीहरूको हितको रक्षा गर्ने दाबी गर्ने एम२३ ले गोमा र बुकाभुका प्रमुख सहरहरू अग्रिम गतिमा कब्जा गर्दा सात हजारभन्दा बढी मानिस मारिएका छन् । एएफपीले स्वतन्त्र रूपमा तथ्याङ्क प्रमाणित गर्न सकेको छैन । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको एक प्रतिवेदनले किगालीले एम२३लाई प्रभावकारी रूपमा नियन्त्रण गरेको र यस क्षेत्रको सुन र कोल्टनजस्ता बहुमूल्य खनिजहरूको दोहन गर्न करिब चार हजार सैनिक तैनाथ गरेको बताएको छ ।
रुवान्डाले एम२३ लाई सैन्य सहायता प्रदान गरेको कुरा अस्वीकार गरेको छ तर सन् १९९४ मा तुत्सीहरूको रुवान्डाली नरसंहारमा संलग्न जातीय हुतु नेताहरूले स्थापना गरेको एफडिएलआर समूहबाट डिआरसीको पूर्वमा खतरा रहेको बताएको छ । कङ्गो सरकार र एम२३ले अन्तिम पटक सन् २०१३ मा वार्ता गरेका थिए ।
प्रतिक्रिया