सोमबार, वैशाख ८, २०८२

युक्रेनको आणविक संयन्त्रहरू अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको भनाइ

नेपालखोज २०८१ चैत ६ गते १२:०३

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई अमेरिकाले युक्रेनको आणविक उर्जा संयन्त्रको स्वामित्व लिन र सञ्चालन गर्न सक्ने बताएका छन् । यो रूसको आक्रमणमा युद्धविराम सुनिश्चित गर्ने उनको नवीनतम प्रयासको हिस्सा हो ।

रूस र युक्रेनबीच सम्भावित युद्धविरामको सुरक्षा गर्न इच्छुक लगभग ३० देशका सैन्य प्रमुखहरू बिहीबार बेलायतमा शान्ति सेना योजनाको बारेमा छलफल गर्न तयार भएपछि यो प्रस्ताव आएको हो । बुधबार ट्रम्पसँगको कुराकानीपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा यस्तै आक्रमण रोक्न सहमत भएको एक दिनपछि रुसको ऊर्जा सञ्जाल र पूर्वाधारमा आक्रमण रोक्न किएभ ‘तयार’ रहेको बताए ।

जेलेन्स्कीले ट्रम्पको विद्युत् संयन्त्र अधिग्रहण योजनाको बारेमा पनि छलफल गरेको बताए । हामीले केवल रुसी कब्जामा रहेको एउटा बिजुली संयन्त्रको बारेमा कुरा गर्‍यौँ, फिनल्यान्डको आधिकारिक भ्रमणमा रहेका जेलेन्स्कीले अनलाइन ब्रिफिङमा जापोरिज्जियामा रहेको संयन्त्रलाई उल्लेख गर्दै भने । उनले रुसलाई छुट दिन ट्रम्पबाट ‘कुनै दबाब महसुस नगरेको’ बताए । तर मङ्गलबार ट्रम्पसँगको आफ्नै कुराकानीमा पुटिनले पश्चिमले पहिले युक्रेनका लागि सबै सैन्य सहायता रोक्नुपर्ने जोड दिएकाले व्यापक युद्धविराम अझै अस्पष्ट छ ।

बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा बेलायती र फ्रान्सेली सैनिकहरू राख्न तयार रहेको बताएका छन् । बेलायत सरकारले ‘उल्लेखनीय सङ्ख्यामा’ राष्ट्रहरू त्यसो गर्न तयार रहेको बताएको छ तर कति देशहरू इच्छुक छन् भन्ने कुरा स्पष्ट छैन ।

जेलेन्स्कीसँगको कुराकानीपछि बुधबार ट्रम्पको स्वर उल्लेखनीय रूपमा सकारात्मक थियो । हालसालै ओभल अफिसमा दुई जनाबीच टेलिभिजनमा प्रसारित विवाद भए भए पनि ह्वाइट हाउसले यसलाई ‘अद्भुत’ भनेर वर्णन गरेको छ । ट्रम्पले ‘युक्रेनको विद्युत् आपूर्ति र आणविक उर्जा संयन्त्रहरू’ बारे छलफल गरे वासिङ्टनले तिनीहरूलाई चलाउन ‘धेरै सहयोगी’ हुनसक्ने बताए, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र विदेशमन्त्री मार्को रुबियोले संयुक्त विज्ञप्तिमा भने, ती संयन्त्रको अमेरिकी स्वामित्व त्यस पूर्वाधारका लागि उत्तम सुरक्षा हुनेछ ।

– युद्ध अन्त्य गर्दै –

ट्रम्पले किएभलाई युरोपबाट थप हवाई सुरक्षा उपकरण प्राप्त गर्न र रूसद्वारा ‘अपहरण’ गरिएका युक्रेनी बालबालिकाहरू फेला पार्न मद्दत गर्ने वचन पनि दिनुभएको विज्ञप्तिमा उल्लेख छ । उनले यसअघि आफ्नो ट्रुथ सोसल नेटवर्कमा पूर्ण युद्धविराम गर्ने प्रयासहरू ‘धेरै नै ट्र्याकमा छन्’ भनेका थिए । जेलेन्स्कीले युक्रेनी र अमेरिकी अधिकारीहरू आउँदो दिनमा साउदी अरबमा नयाँ वार्ताका लागि भेट्न सक्ने बताए । त्यहाँ रूसी र अमेरिकी टोलीहरू पनि आगामी हप्ताको सुरुमा भेट्ने अपेक्षा गरिएको छ । मस्कोले बुधबार रुस र युक्रेनले तीन सय ७२ कैदी साटासाट गरेको बताएको छ ।

यो ट्रम्प–पुटिन फोनवार्तापछि सद्भावना सङ्केतका रूपमा योजना बनाइएको थियो । यद्यपि किएभ र मस्कोले एकअर्कालाई निरन्तर आक्रमणको आरोप लगाएका छन् । रूसले देशभरका विभिन्न क्षेत्रमा रातभर भएको आक्रमणमा एक सय ३२ युक्रेनी ड्रोन नष्ट गरेको बताएको छ । युक्रेनी आपत्कालीन सेवाले बिहीबार मध्य युक्रेनको क्रोपिवनित्स्कीमा रहेको आवासीय भवनमा रुसी ड्रोन हमलामा एक बालकसहित आठ जना घाइते भएको बताएको छ ।

प्रतिक्रिया