जनता उज्यालोबाट अन्धकारतर्फ जान सक्दैनन् : महासचिव पोखरेल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अब नेपाली जनता उज्यालोबाट अन्धकारतर्फ जान नसक्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उनले जनतामा देखिएको निरासालाई चिर्ने उद्देश्यका साथ गठित मुलुकका दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकारले देश र जनताका पक्षमा काम गरिरहेको बताए ।
एक अर्को प्रसङ्गमा उनले एकदलीय पञ्चायति शासनकालमा नेपाली जनताको नैसर्गिक अधिकार हनन भएको तथा आधारभूत आवश्यकताबाट आमजनता वञ्चित हुनुपरेको दृष्टान्त प्रस्तुत गर्दै लोकतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका आधारभूत आवश्यकता पूरा भई देश विकास निर्माणको बाटोमा अघि बढेको स्पष्ट गरे ।
महासचिव पोखरेलले नेपाललाई राम्रो भएको देख्न नचाहने समूहकै कारण मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुनेगरेको उल्लेख गर्दै जनता सचेत भइसकेको अहिलको अवस्थामा भ्रम सिर्जना गरेर कसैलाई पनि गुमराहमा राख्न नसकिने धारणा व्यक्त गरे ।
उनले सार्वभौम जनताबाट घोषित लोकतन्त्र कसैले पनि मास्न नसकिने बताउँदै लोकतन्त्र दुर्घटनामा पर्यो भने आमनागरिकले दुःख पाउने भएकाले त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ भने ।
प्रतिक्रिया