मंगलबार, वैशाख ९, २०८२

‘दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी’

नेपालखोज २०८१ चैत १० गते १५:३३

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताएका छन् ।

आज खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ (फेडवास), नेपालद्वारा यहाँ आयोजित ‘खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्वः अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले खानेपानी र सरसफाइको क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले महिलाहरु हरेक क्षेत्रमा सक्षम रहेको उल्लेख गर्दै महिलालाई अवसर दिए जस्तोसुकै काम पनि गर्न सक्छन् भने । उनले भने, ‘महिलाहरू उपभोक्ता संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कम देखिन्छन् । तर, विडम्बना के छ भने, नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिलाको प्रभावकारी सहभागिता अझै पनि चुनौतीपूर्ण छ ।’

उनले महिला सशक्तीकरण बिना खानेपानी तथा सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न नसक्ने समेत उल्लेख गरे । उनले उपभोक्ता संस्थामा महिलाको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले खानेपानी तथा सरसफाइ संस्थामा महिलाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने कानुनी व्यवस्था लागू गरिने तथा महिला नेतृत्व प्रवद्र्धन गर्न विशेष कोटा, क्षमता अभिवृद्धि कार्यक्रम र आर्थिक सहयोग उपलब्ध गराइने बताए । उनले महिलाहरूको नेतृत्वदायी भूमिका बढाउन प्रशिक्षण, सीप विकास, र सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने समेत बताए ।

प्रतिक्रिया