बुधबार, वैशाख १०, २०८२

गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै

नेपालखोज २०८१ चैत १३ गते ६:४२

महोत्तरी । तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन् । यस वर्ष त झन् सुक्खा हिउँदको असरस्वरुप गर्मी बढ्ने भन्दै आमनागरिक चिन्तित छन् तर यहाँका उखुको जुस व्यापारी भने उत्साहित हुँदै महोत्तरीका बजार क्षेत्रका चोकचोकमा देखिन थालिसकेका छन् । 

गौशाला–५ का मोहम्मद साबिर चैत लागेसँगै दैनिकजसो करिब एक क्विन्टल उखु पेलेर जुस बेच्न थालेको र गर्मी बढ्दै जाँदा व्यापार पनि थपिँदै गएको बताउछन् । ‘अहिले राम्रो बिक्री छ, कुनैकुनै बेला त ग्राहकको भीड नै लाग्छ’, बर्दिबासचोक र आसपास ठेलामा घुमन्ते व्यापार गर्दै आएका उनले भने, ‘मध्याह्नपछि जुस खोज्ने बढी हुन्छन् । चैत लागेयता दैनिक करिब एक क्विन्टल उखु पेलेर बेच्ने गरेको छु ।’ 

धेरै जाँगर र आँट चल्ने युवा उमेर विदेशमा बिताएका ४० वर्षीय साबिरले उखुको जुस बेच्न थालेको एक वर्षमात्र भयो । यसै अवधिमा जहान परिवार, चार छोराछोरीको शिक्षादीक्षासहित विदेश जाँदा लागेको रु तीन लाखभन्दा बढी ऋण तिरेको उनले सुनाए ।

पछिल्ला दुई वर्षदेखि यही काम गरिरहेको बताउने साहले छ जनाको परिवारको लालनपालनसहित  मासिक रु ३० हजारसम्म बचाइने गरेको बताए । आफ्नो ठाउँमा सानो लगानीमा सुरु गर्न सकिने उद्यम छाडेर विदेश धाएको विगत सम्झेर अचेल पछुतो मात्रै लाग्ने गरेको उनको भनाइ छ ।

गर्मी बढेसँगै बर्दिबासमात्र नभएर जिल्लाका गौशाला, रामगोपालपुर, औरही र सदरमुकाम जलेश्वरमा पनि उखुको जुसको व्यापार फस्टाउँदो छ । यस्तो व्यापारमा लागेकाहरू आफ्नो गाउँठाउँभन्दा छिमेकका बजारमा रमाउने गरेका छन् ।

औरही बजारमा व्यापार गर्ने भङ्गाहा–३ का समिम कवारी पनि गर्मी बढेसँगै व्यापारसमेत बढ्ने भन्दै खुसी हुनुहुन्छ । ठेला र मोटर जडानमा रु दुई लाख जति लगानी गरेमा आफ्नै व्यापार गर्न पाइने भन्दै यसमा लागेका प्रायः सबैजसो व्यापारीहरू खुसी व्यक्त गर्छन् । त्यसैमा उधारोमा उखु किनेर जुसबाट भएको आम्दानीबाट त्यसको मूल्य चुक्ता गर्न पाइने हुँदा पनि यो व्यवसाय थप सहज हुने गरेको छ ।

यहाँ रु एक हजारमा प्रतिक्विन्टलमा उखु पाइने गरेको छ । प्रतिक्विन्टल रु १०० उखु छिल्न खर्च हुने गरेको छ । महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चा पदार्थ (उखु) खोज्न भौँतारिनु नपर्ने भएकाले पनि आफूहरू सहज हुने गरेको व्यापारीहरूको भनाइ छ । 

उखुको रस स्वास्थ्यका लागि पनि गुणकारी र कुनै अखाद्य वस्तुको मिसावट नहुने भएकाले पनि गर्मीयाममा यसको माग बढ्ने गरेको छ । बजारमा पाइने अन्य पेयपदार्थभन्दा उखुको जुसको स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुने हुँदा तराई मधेसमा उपभोक्ताको रोजाइमा पर्ने गरेको बर्दिबास नगरपालिका, स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान बताउछन् ।

प्रतिक्रिया